: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दृष्टिकोण र प्रतिबद्धताको प्रशंसा गरेका छन्। उनले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका विषयमा बालेनको स्पष्ट दृष्टिकोण रहेको बताएका हुन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले केही महिनाअघि विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा शाहले संयुक्त राष्ट्रसङ्घमा गरेको सम्बोधनले उनको दृष्टिकोणको झलक देखाएको बताए।
‘पछिल्ला केही घण्टाको छलफलमा पनि नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रति उहाँको स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता महसुस गरेको छु,’मोदीले भने।
उनले यस वर्ष नेपाली जनताले बालेनलाई दिएको ऐतिहासिक जनादेशले नेपालको नयाँ पुस्ताको आकाङ्क्षा र आशा प्रतिबिम्बित गरेको पनि उल्लेख गरे। नेपालका प्रधानमन्त्रीलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै मोदीले भारत–नेपाल सम्बन्ध छिमेकीको सम्बन्धमा मात्र सीमित नभई गहिरो आत्मीयता र अटुट विश्वासमा आधारित रहेको बताए।
‘हाम्रा खुसी साझा छन् र चुनौती पनि साझा छन्। हामी एकअर्काको प्रगतिका साझेदार हौँ र कठिन समयमा एकअर्काको सहारा पनि,’उनले भने।
भारत सधैं सशक्त र समृद्ध नेपालको विकास यात्रामा साझेदार रहँदै आएको उल्लेख गर्दै मोदीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको जानकारी दिए।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा अन्तरिक्ष प्रविधि,सुरक्षा तालिम,निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, दिगो सहरी विकास र कृषिलगायतका क्षेत्रमा दुई देशबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्।