: सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण र उत्थानका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।
राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप र कलाको पहिचान तथा संरक्षण गर्दै जीवनस्तर उकास्न सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको हो। यसका लागि समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता अध्ययन गरी विशेष विकास कार्यक्रमको खाका तयार गर्न छुट्टै अध्ययन कार्यदल गठन गर्ने तयारी गरिएको छ। सोमबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राउटे समुदायका दुई युवा र दुई बालिकासँग भेटघाट तथा छलफलसमेत गरेकी छन्।
मन्त्री बादीले समुदायका सदस्यहरूलाई साथमै लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्र विराजभक्त श्रेष्ठसहित कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, भूमि व्यवस्था तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग भेट गरी समुदायका समस्या र समाधानका उपायबारे छलफल गरिन्।
छलफलमा भाषा, संस्कृति, ज्ञान, सीप र कलाको संरक्षण, परम्परागत काठका सामग्रीको प्रवद्र्धन तथा बजारीकरण, आवास, शिक्षा, स्वास्थ्य, सीप विकास र वैकल्पिक जीविकोपार्जनका अवसर विस्तार गर्ने विषयमा जोड दिइएको छ। समुदायको मौलिक पहिचान र जीवनपद्धतिमा असर नपर्ने गरी उनीहरूकै चाहना, सहमति र प्राथमिकताका आधारमा विशेष कार्यक्रम अघि बढाउने मन्त्री बादीले बताइन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली पुग्दा समुदायका मुखियासँग पुनः भेट गरी कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा कार्यक्रम अघि बढाउने तयारीसमेत गरिएको मन्त्री बादीले बताइन्।
राउटे समुदायका प्रतिनीधिहरुले समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरुले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान संरक्षणका लागि राज्यको विशेष पहल आवश्यक रहेको बताए।