मुख्य समाचार
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी

। जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

सार्वजनिक खरिद नियमावलीको संशोधित व्यवस्थाअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको उनको स्पष्टीकरण छ ।




प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उठेका प्रश्नको जवाफ दिँदै रजौरियाले विभागको प्रमुखको हैसियतमा प्रचलित कानुन तथा सार्वजनिक खरिदसम्बन्धी व्यवस्था पालना सुनिश्चित गर्नुपर्ने जिम्मेवारीलाई प्राथमिकता दिएर निर्णय गरेको बताएका छन् ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो त्रुटिपूर्ण रहेको जिकिर गर्दै लेखा समितिमा उजुरी परेको छ । सो उजुरीउपर लेखा समितिको आजको बैठकमा छलफल भइरहेको छ ।


छलफलमा सहभागी सिंचाइ विभागका महानिर्देशक रजौरियाका अनुसार बोलपत्र रद्द गर्नुको उद्देश्य कानुनी व्यवस्था विपरीत हुन सक्ने खरिद प्रक्रियालाई अगाडि बढाउनुको सट्टा कानुनसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रिया सुनिश्चित गर्नु हो ।

सार्वजनिक खरिद नियमावलीको १६औं संशोधनअनुसार एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका संरचनाको खरिद प्रक्रियामा रेटेड प्वाइन्ट क्राइटेरिया अवलम्बन गर्नुपर्ने व्यवस्था रहेको उनले समितिसमक्ष उल्लेख गरेका छन् ।

रजौरियाले एभरेज प्राइसिङमा आधारित मूल्यांकन विधिभन्दा रेटेड प्वाइन्ट क्राइटेरियामा आधारित मूल्यांकन विधिबाट प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता तथा अन्य निर्धारित मापदण्डको समग्र मूल्यांकन गर्न सकिने बताएका छन् ।

उनका अनुसार जटिल प्रकृतिका संरचना निर्माणका लागि उपयुक्त र सक्षम निर्माण व्यवसायी छनोट गर्न उक्त विधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यसबाट आयोजनाको गुणस्तर, निर्माण कार्यको प्रभावकारिता, समयमै सम्पन्न हुने सम्भावना र सार्वजनिक खर्चको सदुपयोग सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

संशोधित नियमावलीअनुसार बोलपत्रसम्बन्धी कागजात तयार गरी पुन: प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउँदा भविष्यमा आउन सक्ने कानुनी विवाद तथा प्रक्रियागत जटिलता पनि न्यूनीकरण हुने उनले दाबी गरेका छन् ।

उनले बोलपत्र रद्द गर्ने निर्णय कुनै व्यक्ति वा पक्ष विशेषको हितलाई ध्यानमा राखेर नभई सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था पालना, प्रतिस्पर्धात्मक खरिद प्रणालीको सुनिश्चितता, आयोजना निर्माणको गुणस्तर र सार्वजनिक हितलाई केन्द्रमा राखेर गरिएको समितिसमक्ष स्पष्ट पारेका छन् ।

‘कुनै पनि सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाउँदा तत्कालीन प्रक्रियागत सुविधाभन्दा प्रचलित कानुनको पालना, सार्वजनिक स्रोतको अधिकतम सदुपयोग र दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनु जिम्मेवार प्रशासनिक पदाधिकारीको कर्तव्य हो,’ उनको स्पष्टीकरणमा उल्लेख छ ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया रद्द गरिएको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये तीन कम्पनी प्राविधिक मूल्यांकनमा योग्य ठहरिएका थिए । उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला खरिद प्रक्रिया रद्द गरिएको निर्णयले विवाद उत्पन्न गरेको थियो ।

आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको बोलपत्र रद्द भएपछि त्यसको औचित्य, खरिद प्रक्रिया र निर्णयको आधारबारे प्रश्न उठेका थिए ।

महानिर्देशक रजौरियाले भने संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया अघि बढाउनु नै उपयुक्त हुने निष्कर्षमा पुगेपछि बोलपत्र रद्द गर्ने निर्णय गरेको बताएका छन् ।

विभाग तथा मातहतका निकायबाट भएका कामकारबाहीका विषयमा संसदीय समितिले राखेका जिज्ञासा, चासो र सरोकारलाई उच्च महत्त्वका साथ लिने भन्दै उनले थप जानकारी, स्पष्टीकरण वा परामर्शका लागि समितिले बोलाए आवश्यक कागजात तथा प्रमाणसहित उपस्थित हुने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले यस विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु ।’ कागजात प्राप्त भएपछि अध्ययन गरी ...
: कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छन् । सिंहदरबारस्थित कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार आयोजित बैठकमा मन्त्री गौतमले उपचार आवश्यक पर्दा बीमाको सुविधा पाउने ढुक्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन्। स्वास्थ्य बीमाबारे समाधान खोज्न छलफल अघि बढाइएको उल्लेख गर्दै मन्त्री ...
: परराष्ट्रमन्त्री शिशिर खनालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेको जानकारी गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमणका बारेमा ब्रिफिङ गर्दै भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए। प्रधानमन्त्री शाहले मोदीसँगको भेटवार्ताका क्रममा नेपालको औपचारिक भ्रमणको निम्तो दिएका थिए। सोही निम्तो स्वीकार गर्दै मोदीले ...
: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत निर्माण भएको दोस्रो चरणको परियोजनाको सोमबार उद्घाटन गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्तरूपमा परियोजनाको डिजिटल उद्घाटन गरेका हुन्। दुई देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट परियोजनाको उद्घाटन गरेलगत्तै बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पनि शिलालेख अनावरण गरिएको छ। नेपाल र भारतका सरकारी अधिकारीहरूको ...
: नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए। 'नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,' उनले भने। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम