। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्दैछन् ।
भविष्यमा एनपीएललाई ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने तथा त्यसका लागि आवश्यक खेलकुद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने विषयमा केन्द्रित रहेर मन्त्री पोखरेलले मंगलबार सिंहदरबारमै फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
शनिबार एनपीएलको तेस्रो संस्करण सम्पन्न भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं संस्करणदेखि आठवटै टोलीको आफ्नै घरेलु मैदान हुने र फ्लडलाइटमा समेत खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्ने घोषणा गरेका थिए ।
यसै विषयमा सोमबार पनि मन्त्री पोखरेलको अध्यक्षतामा खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एण्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
उक्त बैठकमा नेपालमा खेलकुद लिगहरूलाई होम एण्ड अवे ढाँचामा सञ्चालन गर्ने विषयमा आवश्यक गृहकार्य अघि बढाउनेबारे छलफल भएको थियो ।
बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि छलफल भएको थियो । मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताएका थिए।
सोही क्रममा मन्त्री पोखरेलले यही साताभित्रै एनपीएलका सम्बन्धित फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँग बसेर उनीहरूको आधारभूत आवश्यकता बुझ्ने र लिज सम्झौताको प्रक्रिया अघि बढाउने बताएका थिए ।
सोमबारको बैठकमा एनपीएलको छैटौं संस्करणसम्म ‘होम एण्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यको व्यावहारिक तथा प्राविधिक पक्षबारे समेत समीक्षा गरिएको थियो ।
एनपीएलका तीनवटै संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएका छन् । लगातार तीन संस्करण एउटै मैदानमा आयोजना भएपछि अब प्रतियोगितालाई मल्टी भेन्यु हुँदै होम एण्ड अवे ढाँचामा सञ्चालन गर्नुपर्ने बहस सुरु भएको छ ।
फुटबलको तुलनामा क्रिकेटमा रिभ्यु प्रणालीलगायतका प्रविधि जडान र सञ्चालन खर्च महँगो हुने भएकाले आठवटै मैदानमा एकैपटक पूर्ण प्रविधि जडान गर्नु चुनौतीपूर्ण रहेको निष्कर्ष सोमबारको बैठकले निकालेको थियो । यद्यपि, ठूला सहरहरूबाट क्रमशः पूर्वाधार तथा प्रविधि विस्तार गर्दै लैजान सकिने विषयमा छलफल भएको थियो ।
फ्रेन्चाइज टोलीका सञ्चालकहरूसँगको छलफलपछि घरेलु मैदानको आवश्यकता, पूर्वाधारको अवस्था, लगानी र लिज प्रक्रियाबारे थप स्पष्ट खाका तयार हुने अपेक्षा गरिएको छ ।