: झापा कारागार, भद्रपुरमा जेल जीवन बिताइरहेका एक कैदी अस्पतालबाटै फरार भएका छन् ।झापाबाट उपचारका लागि मोरङ लगिएका कैदी सुमन भन्ने सन्तोष राई फरार भएका हुन् ।
भारतको पश्चिम बङ्गाल तथा अछाम घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका राई २०८२ वैशाख २८ गतेदेखि चोरी मुद्दामा झापा कारागारमा बन्दी जीवन बिताउँदै आएका थिए ।
बिरामी परेपछि उनलाई गत वैशाख २८ गते झापा कारागारबाट मोरङ कारागार स्थानान्तरण गरिएको थियो । त्यसपछि सोही दिनदेखि उनलाई विराटनगर महानगरपालिका–७ स्थित क्षयरोग अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
अस्पतालमा उपचाररत राई सोमबार बिहान ७ बजेर १५ मिनेटमा फरार भएको जनाइएको छ । फरार कैदीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा प्रहरी टोली परिचालन गरिएको छ । उनको तीव्र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।