। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीकै शेरबहादुर देउवा समूहका नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
उनले एकै पार्टीको दुई वटा महाधिवेशन हुन नसक्ने बताउँदै त्यस्ता गतिविधि बन्द गर्न भनेका हुन्। उनले हाल राष्ट्रिय सभा तथा स्थानीय तहमा जनप्रतिनिधिरहेकाहरू देउवा समूहतिर खुलेकाहरूप्रति संकेत गर्दै विधानको ख्याल गर्न आग्रह गरे।
‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ,’ उनले उनले भने, ‘तपाईं हिजो विशेष महाधिवेशनमा भाग लिनु भयो या भएन, पछिको महाधिवेशनमा भाग लिनु भयो या भएन भन्दा पनि कांग्रेस सदस्य भएर अर्को पार्टीको चुनावमा जानु भयो भने पार्टीको विधान कार्यान्वयन गर्ने मेरो जिम्मेवारी हो।’
उनले पार्टीमा असन्तुष्टहरूलाई जोड्ने काममा आफू लागिरहेको पनि बताए। ‘अहिले यहाँ भइरहेको कांग्रेसको अधिवेशन हुँदै होइन। एउटै पार्टीको दुई वटा अधिवेशन हुँदैन,’ देउवा समूहको अधिवेशनतर्फ इंगित गर्दै उनले भने, ‘एक पछि अर्को मान्दै साथीहरूको कुरा पनि सुन्दै जोडेर यहाँसम्म पुगेको हो। अझै पनि जोड्छु। तर यसको एउटा सीमा हुन्छ। कांग्रेसमा अहिलेसम्म समस्या थिएन। तर अब कांग्रेस छोडेर अर्को पार्टीको सदस्या लिने हो भने विधानले प्रष्ट बनाउँछ।’
उनले देउवा समूहबाट भएका गतिविधिलाई फरक पार्टीको गतिविधिको रुपमा संकेत गरे।