: भगवान् श्रीरामको जन्मस्थल भारतको उत्तरप्रदेशस्थित अयोध्याबाट माता जानकीको जन्मस्थल जनकपुरधामसम्म करिब ६ सय ४० किलोमिटरको दूरी तय गर्दै ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार नेपाल आइपुगेको छ।
रामायणकालीन त्रेतायुगको सम्बन्धलाई अझ सशक्त र बलियो बनाउने विश्वासका साथ सञ्चालनमा ल्याइएको दुई देशबीचको अन्तरदेशीय रेललाई स्वागत गर्न जनकपुरधाम रेल्वे स्टेसन ‘जय श्रीसीताराम’को नाराले गुञ्जायमान भएको थियो। धोती, कुर्ता र गम्छामा सजिएका बटुकहरू लहरै स्वस्तिवाचन गरिरहेका थिए। हातमा फूलमाला तथा नेपाल र भारतको झन्डा लिएर स्टेसनमा उभिएका जनकपुरवासीले भारतबाट आएका यात्रुहरूलाई भव्य स्वागत गरे।
रेलको स्वागतका लागि नेपालका संघीय सरकारका मन्त्रीदेखि प्रदेश सरकारका मुख्यमन्त्री, स्थानीय सरकारका प्रमुख र विशिष्ट व्यक्तिहरूको स्टेसनमा जमघट लागेको थियो। ‘यो एउटा रेलगाडीको स्वागतमात्र नभई दुवै देशबीचको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्धको नवयात्रालाई पनि स्वागत गरिरहेका छौं,’ नेपाल सरकारका युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अयोध्याबाट आएका पाहुनाहरूलाई स्वागत गर्दै भने, ‘हजारौं वर्षदेखि रामजानकीको कथाले जसरी अवध र मिथिलालाई जोडेको छ, त्यसरी नै आज आएको यस रेलगाडीले पनि यी दुवै धामलाई जोडेको हो। भगवान् राम जनकपुरका ज्वाइँ हुन्। हाम्रो सम्बन्ध छोरीज्वाइँको छ, परिवारको छ, संस्कृति र परम्पराको छ।’ उनले आउन लागेको रामजानकी विवाहपञ्चमी महोत्सवमा जनकपुर मेला हेर्न आउनेहरूका लागि अब रेलबाट यात्रा अझ सहज हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा अयोध्या–जनकपुर रेलको दुई देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए। सोमबार अयोध्या क्यान्टबाट गुडेको रेलमा साधुसन्त, पर्यटक र सर्वसाधारण यात्री गरी करिब एक हजारजना जनकपुर आइपुगेका थिए।
अन्तरदेशीय रेल सरयू–कमला एक्सप्रेसको यो पहिलो यात्राले नेपाल र भारतको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धको इतिहासमा एउटा स्वर्णिम अध्याय कोरिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुली बताउँछन्। पराजुली भन्छन्, ‘सरयू नदीको किनारबाट कमला नदीको पवित्र भूमि जनकपुरधामसम्म आइपुगेको यस रेलले मर्यादा, आदर्श र धर्मको प्रतीक अयोध्या तथा ज्ञान, भक्ति र शीलको प्रतीक मिथिलाको भूमि जनकपुरधाममा राम र सीताबीच गाँसिएको सम्बन्धलाई अझ जीवन्त बनाएको छ।’ सरयू–कमला एक्सप्रेस केवल फलामको लिकमा गुड्ने रेल मात्रै नभई दुई देशका जनताको मन जोड्ने सांस्कृतिक सेतु र रामायण संस्कृतिको महत्वपूर्ण कडी रहेको उनले बताए।
यो अन्तरदेशीय साप्ताहिक रेल बिहार र उत्तरप्रदेशका विभिन्न सहर हुँदै जनकपुर प्रवेश गर्छ। यस यात्राले भारतको उत्तरप्रदेशस्थित अयोध्या, मनकापुर, बस्ती, गोरखपुर हुँदै बिहारको नरकटियागन्ज, रक्सौल, सीतामढी, सिसो, मधुबनी, जयनगर भएर जनकपुरलाई जोड्नेछ।
भारतको अयोध्याबाट जनकपुरधामसम्म करिब ६ सय ४० किलोमिटर दूरी तय गर्दै ‘सरयू–कमला एक्सप्रेस’ पहिलोपटक नेपाल आइपुगेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले अयोध्या–जनकपुर रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका थिए।
काठमाडौंस्थित भारतीय दूतावासका उपप्रमुख (डीसीएम) डा. राकेश पाण्डेले भारत र नेपालको साझा सांस्कृतिक तथा सभ्यतागत सम्पदालाई समृद्ध बनाउने यी दुई पवित्र स्थललाई जोड्ने नयाँ रेल सेवाले तीर्थयात्रा र पर्यटनलाई सहज बनाउनुका साथै दुई देशबीचको व्यापक जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनसमेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।ऐतिहासिक पहललाई कार्यान्वयनमा ल्याउन सहयोग गर्ने भारत र नेपालका सम्पूर्ण सरोकारवालाहरूलाई बधाई दिँदै उनले यो रेल साझा सम्पदा, सद्भाव र अटुट मित्रताको प्रतीक बन्ने विश्वास व्यक्त गरे।
रेल सेवाले पर्यटन विस्तारका साथै व्यापार–व्यवसायलाई समेत प्रवद्र्धन गर्ने विश्वास लिइएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी यसलाई जनकपुरवासीका लागि मात्रै नभई समग्र मधेस र नेपालकै पर्यटकीय क्षेत्रहरूका लागि लाभदायक मान्छन्। ‘भारतबाट सोझै जनकपुरसम्म रेल आउने भएपछि यसले लुम्बिनी, पोखरा र नेपालका अन्य पर्यटकीय स्थलहरूसम्म पुग्न पनि सहजता प्रदान गर्नेछ, जसबाट पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्नेछ,’ अध्यक्ष भण्डारी भन्छन्, ‘यो अवसरलाई हामीले सक्दो सदुपयोग गर्न सक्नुपर्छ।’
भारतमा सन् १८५३ मा मुम्बईदेखि ठाणेसम्म ३४ किलोमिटर दूरीको रेल पहिलो पटक सञ्चालन भएको थियो। आज विश्वकै चौथो अत्यन्त आधुनिक रेल सञ्चालकका रूपमा भारत स्थापित भइसकेको छ। नेपालमा रेल्वेको इतिहास करिब एक शताब्दी पुरानो छ। विसं. १९८४ मा अमलेखगन्ज–रक्सौलबाट सुरु भएको रेलको यात्रा विसं. १९९४ मा जनकपुरदेखि जयनगरसम्म विस्तार भएको थियो।
लामो समयसम्म न्यारोगेजमा सीमित रहेको जनकपुर–जयनगर रेल्वे भारत सरकारको सहयोगमा ब्रोडगेजमा परिणत भएर हाल सञ्चालनमा रहेको छ। अहिले दुई देशबीचको सिधा अन्तरदेशीय रेल सेवाको युगमा नेपाल रेल्वे प्रवेश गरेको छ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले अवध र मिथिलाबीच विवाहपञ्चमी महोत्सवको अवसरमा जन्ती आउने परम्परा वर्षौंदेखि रहिआएकोमा अहिले यस धार्मिक र सांस्कृतिक सम्बन्धलाई रेलमार्गका माध्यमबाट जोड्ने कार्य विश्वकै लागि उदाहरणीय रहेको बताउँछन्। उनी भन्छन्, ‘यो एउटा रेल सञ्जालमात्र नभई मन जोड्ने माध्यम बनेको छ। अयोध्यामा रामललाको दर्शन गर्न आउनेहरूले जनकपुर आएर माता सीताको जन्मस्थलमा दर्शन गर्नुभयो भनेमात्रै श्रद्धालुहरूको यात्रा पूर्ण हुन्छ भन्ने सन्देशसमेत यो रेल सञ्जालले दिनेछ।’
मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले केही वर्षपहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणकै उपजका रूपमा अयोध्यादेखि जनकपुरधामसम्मको रेल यात्रा सुरु भएको बताएका छन्। तर, उनले रेलका साथसाथै अयोध्या र जनकपुरबीच सोझै हवाई यात्रा सञ्चालनको माग दुवै देशका प्रधानमन्त्रीसमक्ष राखेका छन्। साथै, उनले सडकमार्गबाट भारतीय गाडी लिएर जनकपुर र मधेस प्रदेश आउने यात्रीहरूका लागि नेपालमा कम्तीमा २४ घण्टा भन्सार छुट गर्नसमेत माग गरेका छन्।
‘रेलबाट जनकपुर आउने यात्रीहरूका लागि त सुविधा हुने नै भयो, तर भारतबाट सार्वजनिक तथा निजी यातायात प्रयोग गरी भारतीय नम्बर प्लेटका गाडी लिएर आउने यात्रीहरूका लागि कम्तीमा २४ घण्टाको भन्सार छुट गरियोस्,’ मुख्यमन्त्री यादव भन्छन्, ‘जसले गर्दा उताबाट आउने श्रद्धालु र पाहुनाहरूलाई सहज होस्। भारतीय गाडी लिएर आउनेहरूलाई नेपालमा निकै हैरानी दिने गरिन्छ भन्ने कुरा मलाई थाहा छ।
हामीहरूको बेटीरोटीको सम्बन्ध छ भन्ने कुरा सबैलाई थाहा छ, तर आजको दिनमा नेपालबाट भारत र भारतबाट नेपाल जान निकै अप्ठ्यारो हुन थालेको छ, जसले गर्दा सम्बन्धहरूमा खटास आउन थालेको छ।’ समग्र मधेसमा पर्यटन विस्तारका लागि कम्तीमा नेपाल र भारतबीच सहज यातायात सेवा हुनुपर्ने मुख्यमन्त्री यादवको भनाइ छ।