मुख्य समाचार
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् ।

डिसेम्बर १६ बंगलादेशमा विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो ।




समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार मंगलबार स्वदेश फर्किने मिति घोषणा गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानसँग राष्ट्रिय ध्वजावाहक विमानमार्फत आफ्नो स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।

हसिनाका प्रवक्ता सैयद मोजाम्मेल अलीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘५ अगस्ट २०२४ मा शेख हसिनालाई बंगलादेशकै विमानबाट भारत ल्याइएको थियो । अब उहाँले दिल्लीबाट ढाकासम्मको हवाई यात्राको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभएको छ ।’


हसिनाका सहयोगी अबु ओबैदा अरिनले एपीसँग भनेका छन्, ‘उहाँले बंगलादेश फर्किने दिनका रूपमा विजय दिवस अर्थात् डिसेम्बर १६ रोज्नुको विशेष अर्थ छ ।’

अरिनले हसिना स्वदेश फर्किएपछि उनको नेतृत्वमा बंगलादेश पुन: शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

हसिना ५ अगस्ट २०२४ मा भारत गएकी थिइन् । विद्यार्थी आन्दोलनका कारण उनले १५ वर्षदेखि चलाउँदै आएको सत्ता छाड्नुपरेको थियो । उक्त आन्दोलनका क्रममा सयौँ प्रदर्शनकारी मारिएका थिए ।

उनलाई अनुपस्थितिमै मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । तर उनले उक्त फैसला अस्वीकार गर्दै आएकी छन् । बंगलादेश फर्किएर आफूले मुद्दामा आफ्नो पक्ष राख्ने उनको भनाइ छ ।

तर बंगलादेश सरकारको धारणा भने बिलकुल फरक छ ।

विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले हसिना स्वदेश फर्किए हतकडी लगाएर कडा निगरानीमा ल्याइने बताएका छन् । उनले हसिना सामान्य यात्रु नभएको टिप्पणी गरेका छन् ।


बंगलादेशका प्रधानमन्त्री तारिक रहमान
यस्तो अवस्थामा प्रश्न उठ्छ- बंगलादेश पुग्नेबित्तिकै पक्राउ पर्नसक्ने र मृत्युदण्डको सजायसमेत सुनाइसकिएको थाहा हुँदाहुँदै हसिना किन स्वदेश फर्किन चाहन्छिन् ?

के उनी साँच्चिकै आफूविरुद्धका मुद्दाको सामना गर्न चाहन्छिन् ? अथवा स्वदेश फर्किने घोषणा गरेर आफ्नो पार्टी अवामी लिगलाई पुन: राजनीतिक रूपमा सक्रिय बनाउन खोजिरहेकी छन् ?

उनको स्वदेश फिर्तीलाई लिएर भारत र बंगलादेशबीच कूटनीतिक सहमति बन्न सक्छ ?

यी हुन् शेख हसिनाको स्वदेश फिर्तीसँग जोडिएका महत्त्वपूर्ण प्रश्न र तिनका जवाफ ।

१. स्वदेश फर्किने घोषणापछाडि हसिनाको रणनीति के छ ?

हसिनाको स्वदेश फिर्तीको घोषणालाई उनको व्यक्तिगत इच्छाका रूपमा मात्र हेर्नु उपयुक्त हुँदैन । यसपछाडि अवामी लिगको राजनीतिक भविष्य र पार्टीभित्र आफ्नो पकड कायम राख्ने प्रयास पनि हुन सक्ने विश्लेषकहरूको धारणा छ ।

ढाकास्थित सेन्टर फर गभर्नेन्स स्टडिजका अध्यक्ष जिल्लुर रहमानले अलजजिरासँग कुरा गर्दै हसिनालाई बंगलादेश फर्किएपछि आफ्नो अवस्था के हुन सक्छ भन्ने थाहा भएको बताएका छन् । तर राहदानी प्राप्त गर्ने र स्वदेश फर्किने विषय उठाउनुको उद्देश्य अवामी लिगका नेता तथा कार्यकर्तालाई राजनीतिक रूपमा सक्रिय राख्नु हुन सक्ने उनको विश्लेषण छ ।

रहमानका अनुसार हसिना कुनै पनि अवस्थामा पार्टीको नेतृत्व अरू कसैलाई सुम्पिन चाहँदैनन् । यही कुरा हसिना र अवामी लिग दुवैका लागि समस्याको विषय बन्न सक्छ । पार्टीले आफ्नो अस्तित्व जोगाउन नयाँ नेतृत्व खोज्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

त्यस्तै, बंगलादेश इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान निर्देशक फैज सोभानले पनि अलजजिरासँग कुरा गर्दै स्वदेश फर्किने घोषणाले हसिनालाई राजनीतिक रूपमा चर्चामा रहिरहन सहयोग गर्ने बताएका छन् । यसबाट उनले देशभित्र आफ्ना समर्थकको मनस्थिति बुझ्ने अवसरसमेत पाउने उनको विश्लेषण छ ।

सोभानका अनुसार हसिनाको वास्तविक स्वदेश फिर्तीको सम्भावना निकै कठिन छ । किनभने त्यसको अर्थ मृत्युदण्डको सामना गर्नु वा बाँकी जीवन जेलमा बिताउनु हुन सक्छ ।



अमेरिकाका पूर्वकूटनीतिज्ञ जोन डानिलोभिचले पनि अलजजिरासँगको कुराकानीमा हसिनाको स्वदेश फिर्ती घोषणालाई आफ्ना समर्थकलाई एकजुट राख्ने प्रयासका रूपमा व्याख्या गरेका थिए ।

उनको विश्लेषणमा डिसेम्बरमा फर्किने घोषणा गर्नुको उद्देश्य बंगलादेशमा घट्दै गएको आफ्नो राजनीतिक सान्दर्भिकतालाई पुन: चर्चामा ल्याउनु हो ।

हसिनाले स्वदेश फर्किन रोजेको मिति पनि राजनीतिक रूपमा महत्त्वपूर्ण छ । सन् १९७१ डिसेम्बर १६ मा बंगलादेशको मुक्ति युद्ध समाप्त भएको थियो ।

यो दिन बंगलादेशको इतिहासमा विशेष महत्त्व राख्छ । हसिनाका पिता शेख मुजिबुर रहमान बंगलादेशको स्वतन्त्रता आन्दोलनका प्रमुख नेतामध्ये एक थिए ।

त्यसैले विजय दिवसका दिन स्वदेश फर्किने घोषणा गरेर हसिनाले आफ्नो राजनीतिक विरासत र बंगलादेशको स्वतन्त्रता आन्दोलनसँग जोडिएको पारिवारिक इतिहासलाई पनि अगाडि ल्याउन खोजेको देखिन्छ ।

२. अवामी लिगका गतिविधि किन बढ्दै छ ?

हसिनाको स्वदेश फिर्तीको घोषणा यस्तो समयमा आएको छ, जतिबेला बंगलादेशमा अवामी लिगका नेता तथा कार्यकर्ताको गतिविधिलाई लिएर तनाव बढिरहेको छ ।

बीबीसी बंगलाका अनुसार पछिल्ला साताहरूमा अवामी लिगका नेता तथा कार्यकर्ताले स्थानीय तहमा आफ्नो उपस्थिति देखाउने प्रयास गरिरहेका छन् ।

विशेषगरी गोपालगन्जलगायत विभिन्न जिल्लामा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन् । यसको जवाफमा सरकारले पनि हिंसा रोक्न विभिन्न कदम चालेको छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने अवामी लिगको राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा पार्टीका नेता तथा कार्यकर्ताले सार्वजनिक प्रदर्शन गर्नु वर्तमान सरकारका लागि कानुन व्यवस्थाको चुनौती बनेको छ ।



हसिनाले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रको माग गरेपछि बंगलादेशमा हिंसात्मक गतिविधि बढेको रोयटर्सले जनाएको छ । गोपालगन्जमा हसिनाका समर्थकले गरेका प्रदर्शन हिंसात्मक बनेका छन् । ती घटनामा ज्यानसमेत गएको छ ।

यस घटनाक्रमले सरकारको चिन्ता हसिनाको स्वदेश फिर्तीमा मात्र सीमित नरहेको देखाउँछ । उनको स्वदेश फिर्तीको घोषणाले अवामी लिगका नेता, कार्यकर्ता र समर्थक पुन: संगठित हुन सक्ने सरकारको आशंका छ ।

त्यसैले सरकारले डिसेम्बर आसपास सीमा क्षेत्रमा समेत निगरानी बढाउने बताएको छ ।

३. बंगलादेश सरकारले सीमामा किन सतर्क गरायो ?

बीबीसी बंगलाको रिपोर्टअनुसार बंगलादेशका प्रधानमन्त्रीका सूचना तथा प्रसारण सल्लाहकार डा. जाहेद उर रहमानले सीमा क्षेत्रमा घुसपैठ रोक्न बोर्डर गार्ड बंगलादेश (बीजीबी) लाई सतर्क रहन निर्देशन दिइएको बताएका छन् ।

जाहेद उर रहमानका अनुसार अवामी लिगका हजारौँ नेता तथा कार्यकर्ता विदेशमा छन् । उनीहरूमध्ये धेरैविरुद्ध मुद्दा दर्ता भएका छन् ।

उनले डिसेम्बर आसपास कुनै अभियुक्तले देशभित्र प्रवेश गर्ने प्रयास गरे पक्राउ गरी कानुनी प्रक्रियाअनुसार कारबाही गर्न सकियोस् भनेर सीमा क्षेत्रमा सतर्कता बढाइएको बताएका छन् ।

यो अभिव्यक्ति महत्त्वपूर्ण छ । किनभने यसले सरकार हसिनाको स्वदेश फिर्तीलाई एक व्यक्तिको आगमनका रूपमा मात्र हेरिरहेको छैन भन्ने देखाउँछ । विदेशमा रहेका अवामी लिगका नेता तथा कार्यकर्ताको सम्भावित गतिविधिलाई लिएर पनि सरकार चिन्तित छ ।

यद्यपि, सरकारको यस्तो आशंकालाई ठूलो स्तरमा घुसपैठ हुन लागेको पुष्टि भएको घटनाका रूपमा बुझ्नु हुँदैन । यो सरकार आफैँले सार्वजनिक गरेको सुरक्षा सतर्कतासम्बन्धी धारणा हो ।

४. बंगलादेश सरकार यति कठोर किन ?

हसिनाको स्वदेश फिर्तीबारे बंगलादेश सरकारका दुई वरिष्ठ अधिकारीका अभिव्यक्तिले सरकारको धारणा बुझ्न सहयोग गर्छन् ।

विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले मंगलबार विदेशी कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै शेख हसिनालाई कडा निगरानीमा हतकडी लगाएर मात्रै देश ल्याउन सकिने बताएका थिए ।

उनले कुनै अभियुक्तलाई सामान्य यात्रुका रूपमा देश प्रवेश गर्न दिन नसकिने बताएका छन् ।

उनले अवामी लिगमाथि आतंकवादलाई बढावा दिएको आरोपसमेत लगाएका छन् । उनका अनुसार बंगलादेशमा आतंकवादको सम्बन्ध अवामी लिगसँग छ ।

अर्कोतर्फ, इन्टरनेसनल क्राइम्स ट्राइब्युनलका प्रमुख अभियोजक मोहम्मद अमिनुल इस्लामले हसिनाका लागि विमान पठाइदिन गरिएको मागलाई ‘अभूतपूर्व’ भनेका छन् ।

बीबीसी बंगलाका अनुसार उनले कुनै फरार दोषीका लागि अर्को देशबाट विमान मागिएको घटना विश्वमै विरलै हुने बताएका छन् ।

उनले अवामी लिगलाई आतंकवादी संगठन घोषणा गर्नुपर्ने हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको पनि बताएका छन् । अनुसन्धानबाट पार्टी आतंकवादी संगठन भएको प्रमाणित भए सरकारले वा न्यायाधिकरणले कानुनी कारबाही गर्न सक्ने उनको भनाइ छ ।

यसको अर्थ हसिनाको स्वदेश फिर्तीसँगै अवामी लिगको संगठनात्मक र कानुनी अवस्थाको प्रश्न पनि जोडिएर आएको छ ।

५. भारतको धारणा के छ ?

शेख हसिनाको स्वदेश फिर्तीमा भारतको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुनेछ । उनी सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । बंगलादेश सरकारले यसअघि नै भारतसँग उनको सुपुर्दगी माग गरिसकेको छ ।

भारत र बंगलादेशबीच सन् २०१३ मा सुपुर्दगी सन्धि भएको थियो । बंगलादेशले यही सन्धिअन्तर्गत हसिनालाई फिर्ता पठाउन माग गरिरहेको छ ।

तर सन्धि हुँदैमा भारतले हसिनालाई बंगलादेशको जिम्मा लगाउनैपर्छ भन्ने निश्चित हुँदैन ।

सन्धिमा केही विशेष परिस्थितिमा सुपुर्दगी अस्वीकार गर्न सकिने व्यवस्था छ । यसमा राजनीतिक प्रकृतिका अपराधसँग सम्बन्धित अपवाद पनि समावेश छ । यद्यपि, केही गम्भीर अपराधलाई भने यो अपवादको दायराबाहिर राखिएको छ ।



भारतको विदेश मन्त्रालयले सन् २०२६ अप्रिलमा बंगलादेशको सुपुर्दगी अनुरोधमाथि अध्ययन भइरहेको र नयाँ सरकारसँग रचनात्मक संवाद गर्न चाहेको बताएको थियो ।

तर ढाका ट्रिब्युनका अनुसार बंगलादेश सरकारका सूचना तथा प्रसारण सल्लाहकार जाहेद उर रहमानले नोभेम्बर २४ मा महत्त्वपूर्ण अभिव्यक्ति दिएका छन् ।

उनले हसिनाको स्वदेश फिर्तीबारे सरकारको छलफल हसिनासँग नभई भारतसँग भइरहेको बताएका छन् । उनका अनुसार हसिनालाई स्वदेश फर्काउने प्रक्रियाबारे भारतसँग छलफल गरिनेछ ।

उनले हसिना फर्किन चाहेको र बंगलादेशले पनि उनलाई फिर्ता चाहेको अवस्थामा भारतले उनलाई जिम्मा लगाउन हिचकिचाउन नहुने बताएका छन् ।

यो अभिव्यक्तिले विदेश मामिलासम्बन्धी राज्यमन्त्रीको हतकडी लगाएर ल्याउने चेतावनीभन्दा फरक पक्ष उजागर गरेको छ । बंगलादेश सरकार हसिनासँग प्रत्यक्ष संवाद गर्नुभन्दा भारतसँग उनको सुपुर्दगी प्रक्रियाबारे छलफल गर्न चाहन्छ ।

६. हसिना कसरी फर्किन सक्छिन् ?

हसिनाको स्वदेश फिर्तीको बाटोमा एउटा ठूलो व्यावहारिक अवरोध उनको राहदानी हो ।

बंगलादेश सरकारले उनी भारत आएको केही महिनापछि सन् २०२४ अगस्टमै उनको कूटनीतिक राहदानी रद्द गरेको थियो ।

बीबीसी बंगलाका अनुसार हसिनाले अहिले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएकी छन् । उनले बंगलादेश सरकारसँग ती कागजात जारी गर्न माग गरेकी छन् ।

उनका प्रवक्ताका अनुसार हसिनालाई बंगलादेशकै विमानबाट भारत ल्याइएको थियो । त्यसैले अब उनलाई स्वदेश फर्काउने व्यवस्था पनि सरकारले नै गर्नुपर्ने उनको माग छ ।

तर बंगलादेश सरकारले यो माग अस्वीकार गरेको छ ।

७. बंगलादेश फर्किएपछि हसिनालाई के हुन्छ ?

सन् २०२५ नोभेम्बरमा बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्राइब्युनलले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।

यो मुद्दा सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसा र दमनसँग सम्बन्धित थियो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो ।

हसिनाले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी छन् । उनको भनाइमा आफू अनुपस्थित रहेको अवस्थामा मुद्दा चलाइएको थियो र आफ्नो पक्ष राख्ने उचित अवसर दिइएन ।

अब प्रश्न उठ्छ– उनी स्वदेश फर्किएपछि फैसलाविरुद्ध पुनरावेदन गर्ने अवसर पाउँछिन् कि पाउँदिनन् ?

नोभेम्बर २४ को एसोसिएटेड प्रेसको रिपोर्टअनुसार हसिनासँग फैसलाविरुद्ध पुनरावेदन गर्न निर्धारित ३० दिनको समयसीमा थियो, जुन बितिसकेको छ ।

अभियोजन पक्षका अनुसार अब उनको मृत्युदण्ड कार्यान्वयन रोक्ने सामान्य कानुनी बाटो बाँकी छैन । यद्यपि, राष्ट्रपतिसँग क्षमादान दिने अधिकार छ ।

त्यसैले हसिना बंगलादेश फर्किएपछि सबैभन्दा पहिले उनको गिरफ्तारी र सजाय कार्यान्वयनसँग सम्बन्धित कानुनी प्रक्रिया अघि आउनेछ ।

तर बंगलादेश प्रवेश गर्नासाथ उनको मृत्युदण्ड कार्यान्वयन भइहाल्छ भन्नु उचित हुँदैन । त्यसका लागि सम्बन्धित कानुनी प्रक्रिया र अन्य संवैधानिक व्यवस्थाको प्रश्न पनि महत्त्वपूर्ण हुनेछ ।

–बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यक्तिगत रूपमा अर्को व्यक्तिलाई ब्याजमा पैसा ऋण दिने कार्यलाई गैर कानूनी मानिन्छ । यस्तो कारोबारमा संलग्न व्यक्तिलाई आपराधिक कसुरमा कम्तीमा एक वर्ष कैद र ५० हजार दिराम जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यूएईको सॅघीय कानून अनुसार एक व्यक्तिले अर्को व्यक्तिलाई ब्याजमा ऋण दिनु गैरकानुनी हो। कानुनले प्रत्यक्ष ब्याज मात्र नभई ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। उद्धार कार्यमा एम्बुलेन्स सेवा, नागरिक सुरक्षा विभाग (सिभिल डिफेन्स) लगायत सम्बन्धित निकायका टोली खटिएका थिए। दुर्घटनाको कारण ...
। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन् । यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाको विकासबारे नयाँ जानकारी दिएको छ । जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै ...
। बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ । हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग ...
। अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेटिक सांसद जिमी गोमेजले यौन दुर्व्यवहारको विश्वसनीय प्रमाण भेटिएपछि कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेका छन्। अमेरिकी समाचार संस्था सीबीएस न्युजका अनुसार अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको आचारसंहिता समितिले सोमबार छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि उनले पद छोड्ने निर्णय गरेका हुन्। आचारसंहिता समितिको प्रतिवेदनमा गोमेजले आफू र कर्मचारीबीचको शक्तिको असन्तुलनलाई बेवास्ता गर्दै संसद्की एक महिला कर्मचारीमाथि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम