: वर्षौंदेखि चर्चामा रहँदै आएको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आर्थिक स्रोतको अभाव हुन नदिने भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले बताएका छन्। उनले आयोजना निर्माणका लागि आवश्यक बजेट सरकारले व्यवस्था गर्ने दाबी गरेका छन्।
बुधबार बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लम्सालले बूढीगण्डकी राष्ट्रिय महत्त्वको आयोजना भएकाले यसको निर्माणलाई प्राथमिकतामा राखेर अघि बढाइने बताएका हुन्।
‘बूढीगण्डकी निर्माणका लागि पैसाको अभाव हुँदैन,’ मन्त्री लम्सालले भने। उनले आयोजना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने जिम्मेवारी सरकारले लिने संकेत गर्दै बजेट अभावका कारण आयोजना रोकिन नदिने बताएका छन्।
लामो समयदेखि विभिन्न चरणमा चर्चा, अध्ययन र तयारी हुँदै आए पनि बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन। आयोजना निर्माणको प्रतीक्षामा रहेका धादिङ र गोरखाका नागरिकबीच यसको कार्यान्वयनलाई लिएर चासो र प्रतीक्षा कायमै छ।
यसैबीच बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले आयोजनाको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल तथा धादिङ र गोरखाका सांसदहरू उपस्थिति थिए।