: काठमाडौंको नरदेवीमा मनाइने ऐतिहासिक श्री ङ्यतभुलु अजिमा (नरदेवी) को १२ वर्षे जात्रा सुरु भएको छ। नेवार समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यो जात्रामा विभिन्न देवीदेवताको मुकुन्डो धारण गरेका देवगणले परम्परागत देवी नाच प्रस्तुत गरिरहेका छन्।
मल्लकालदेखि चल्दै आएको विश्वास गरिने यस जात्रामा नरदेवी, कुमारी, भैरव, गणेश, महालक्ष्मीलगायत देवीदेवताको नाच प्रदर्शन गरिन्छ। १२ वर्षे जात्राको विशेष अवसरमा सुथमाजु, महादेव, चण्डेश्वरी, कुमारलगायत देवगणको नाचसमेत देखाइन्छ।
जात्राका क्रममा देवगणहरू विभिन्न टोल, मन्दिर तथा शक्तिपीठको परिक्रमा गर्दै नाच प्रदर्शन गर्छन्। धार्मिक आस्थाअनुसार यस जात्राले समाजमा शान्ति र समृद्धि कायम हुनुका साथै रोगव्याधिबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। बुधबारदेखि सुरु भएको जात्रा बिहीबारसम्म इन्द्रचोकमा प्रदर्शन गरिनेछ।