। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङ (तरबारबाजी) खेल समावेश नगरिएकोप्रति नेपाल फेन्सिङ संघले आपत्ति जनाएको छ। संघले लामो समयदेखि राष्ट्रिय खेलकुदको हिस्सा रहँदै आएको खेललाई अन्तिम समयमा सम्बन्धित संघसँग परामर्श नगरी हटाइएको भन्दै दुःख व्यक्त गरेको हो।
कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदमा फेन्सिङलाई समावेश नगरिएको संघले जनाएको छ। ओलम्पिक खेलकुदको सुरुवातदेखि नै समावेश हुँदै आएको फेन्सिङ ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग) जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि समावेश छ।
नेपालले सन् २०१४ को इन्चोन एसियाली खेलकुददेखि फेन्सिङमा सहभागिता जनाउँदै आएको छ। सातौँ राष्ट्रिय खेलकुददेखि नियमित रूपमा राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको यस खेलका खेलाडीले नेपालमै आयोजित १३औँ सागमा चार रजत र छ कांस्य गरी कुल १० पदक जितेका थिए।
सन् २०२७ अप्रिल ३ देखि ११ सम्म पाकिस्तानमा आयोजना हुने १४औँ सागमा पनि फेन्सिङ समावेश छ। त्यसैले नेपाली खेलाडीले दशौँ राष्ट्रिय खेलकुदलाई आफ्नो क्षमता प्रदर्शन, छनोट र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीको महत्वपूर्ण अवसरका रूपमा लिएको संघले जनाएको छ।
संघका अनुसार दशौँ राष्ट्रिय खेलकुदको तयारी र खेल समावेश गर्ने प्रक्रियामा फेन्सिङलाई पनि राखिएको थियो। खेल सामग्री व्यवस्थापनको तयारीसमेत अघि बढाइएको अवस्थामा अन्तिम समयमा सम्बन्धित संघसँग कुनै परामर्श र छलफल नगरी खेल हटाइएको संघको भनाइ छ।
वर्षौंदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अभ्यास र तयारी गरिरहेका खेलाडीलाई औपचारिक जानकारी, पत्राचार वा स्पष्ट कारणबिना प्रतियोगिताबाट वञ्चित गरिनुले उनीहरूको मेहनत, लगानी र सपनामाथि अन्याय भएको संघले जनाएको छ। यसले खेलाडीको मनोबलमा असर पर्नुका साथै १४औँ सागको तयारी र छनोट प्रक्रियासमेत अन्योलमा परेको संघको भनाइ छ।
फेन्सिङका उत्कृष्ट खेलाडीमध्ये धेरै कर्णाली प्रदेशका नागरिक रहेको उल्लेख गर्दै संघले आफ्नै क्षेत्रमा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा उनीहरूलाई आफ्नो खेल प्रदर्शन गर्नबाट वञ्चित गरिनु दुःखद भएको जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित प्रतिस्पर्धा हुने र राष्ट्रिय स्तरमा लामो इतिहास बनाएको खेललाई बाहिर राखिनुले खेल छनोटको मापदण्ड र प्राथमिकतामाथि प्रश्न उठेको संघको ठहर छ।
नेपाल फेन्सिङ संघले राष्ट्रिय खेलकुद परिषद्समक्ष दशौँ राष्ट्रिय खेलकुदबाट फेन्सिङ हटाउनुको आधिकारिक कारण र निर्णय प्रक्रियाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेको छ। साथै, १४औँ सागका लागि खेलाडी छनोट गर्न राखेप र संघको समन्वयमा छुट्टै राष्ट्रिय छनोट प्रतियोगिता वा पारदर्शी छनोट विधि तत्काल निर्धारण गर्न आग्रह गरेको छ।
संघले खेलाडीका लागि विशेष प्रशिक्षण, प्रशिक्षण सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउँदै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि उपयुक्त अवसर सुनिश्चित गर्न पनि माग गरेको छ। आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल समावेश गर्ने वा हटाउने निर्णय गर्दा सम्बन्धित राष्ट्रिय खेल संघसँग अनिवार्य परामर्श र समन्वय गर्ने व्यवस्था गर्नुपर्ने संघको माग छ।
राष्ट्रिय खेलकुद परिषद्ले यस घटनालाई प्राविधिक विषयका रूपमा मात्र नहेरी खेलाडीको मनोबल, भविष्य र राष्ट्रिय प्रतिनिधित्वसँग जोडिएको विषयका रूपमा सम्बोधन गर्नुपर्ने संघले जनाएको छ। दशौँ राष्ट्रिय खेलकुदमा फेन्सिङ समावेश नभए पनि १४औँ सागका लागि खेलाडी छनोट र तयारीको वैकल्पिक बाटो तत्काल खोल्न संघले जोडदार माग गरेको छ।