। इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने वर्राक नाइबरहुडस्थित रिङरोडमा इन्धन ट्यांकर दुर्घटनापछि आगलागी भएको हो ।
आगलागीमा घाइते भएकाहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरूमध्ये केहीलाई जलेको चोट लागेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट भिडियोहरूमा रातको आकाशमा अग्लो ज्वालासहित कालो धुवाँ फैलिएको देखिन्छ । आगलागीका कारण घटनास्थल आसपासका केही सवारीसाधनसमेत जलेका छन् ।
आगलागी कसरी सुरु भयो भन्नेबारे अधिकारीहरूले औपचारिक विवरण सार्वजनिक गरेका छैनन् तर, सरकारी सञ्चारमाध्यमका अनुसार ट्यांकर पल्टिएपछि त्यसबाट पेट्रोल पोखिएर आसपासका सवारीसाधनमा आगो फैलिएको थियो ।
सरकारी अखबार अल-अहरामले अनुसन्धानसँग जानकार स्रोतलाई उद्धृत गर्दै ट्यांकर सडकमा गुडिरहेको बेला अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको जनाएको छ । त्यसपछि ट्यांकर सडकको बीचमा रहेको डिभाइडर पार गर्दै पल्टिएको र आगलागी भएको समाचारमा उल्लेख छ ।
घटनाबारे क्षेत्रीय सरकारी अभियोजन कार्यालयले अनुसन्धान सुरु गरेको छ। मृतकहरूको पहिचान सुनिश्चित गर्न शवबाट डीएनए नमुना संकलन गर्नसमेत निर्देशन दिइएको छ । दुर्घटनामा परेको ट्यांकर निजी ठेकेदार कम्पनीको रहेको बताइएको छ ।
इजिप्टमा पछिल्ला वर्षहरूमा आगलागीका कैयौँ घातक घटना भएका छन् । व्यवस्थित आवासीय क्षेत्र, जीर्ण पूर्वाधार, आपत्कालीन उद्धारमा ढिलाइ तथा स्थानीयस्तरमा उपलब्ध साधनबाट गरिने उद्धार प्रयासका कारण आगलागीका घटनामा क्षति न्यूनीकरण गर्न चुनौती हुने गरेको बीबीसीले जनाएको छ ।