: संयुक्त अरब इमिरेट्स (यूएई) मा अनलाइन ठगी गर्ने गिरोहको जालोमा नेपाली श्रमिकहरु फस्ने गरेको पाईएको छ ।
विशेषगरी टेलिग्राममार्फत आकर्षक आम्दानी र पार्टटाइम कामको प्रलोभन देखाएर नेपालीको बैंक खाता प्रयोग गरी गैरकानुनी आर्थिक कारोबार गरेको पाएपछि उनीहरु कानूनी समस्यामा पर्ने गरेका हुन् ।
यसरी ठगीमा पर्ने नेपालीको यकिन तथ्यांक उपलब्ध नभए पनि संख्या ठूलो रहेको अनुमान छ ।
विशेषगरी डिजिटल वित्तीय कारोबारबारे पर्याप्त जानकारी नभएका र अतिरिक्त आम्दानीको खोजीमा रहेका श्रमिकलाई गिरोहले निशाना बनाउने गरेको पाईएको छ ।
यसरी फस्छन् नेपाली
ठगहरूले टेलिग्राम र ह्वाट्सएपमार्फत आकर्षक कमाइको प्रस्ताव गर्छन् । कतिपयलाई बैंक खाता खोलिदिएबापत पैसा दिने वा पार्टटाइम कामको नाममा कमिसन दिने प्रलोभन देखाइन्छ। त्यसपछि उनीहरूको बैंक खातामा विभिन्न व्यक्तिबाट रकम जम्मा गरिन्छ। खातावालालाई उक्त रकम निकालेर गिरोहका सदस्यलाई बुझाउन वा अर्को खातामा पठाउन लगाइन्छ।
तर खातामा आएको रकम अनलाइन ठगीबाट प्राप्त भएको बारे उनीहरु अनबिज्ञ हुन्छन्। अरूको अवैध रकम आफ्नो खातामार्फत कारोबार गरिदिने व्यक्तिलाई वित्तीय अपराधको भाषामा ‘मनी म्युल’ भनिन्छ। यस्तो कारोबारमा अनजानमै संलग्न भए पनि खातावाला प्रहरी अनुसन्धान र कानुनी कारबाहीमा पर्न सक्छन्।
यूएईको वित्तीय अनुसन्धान इकाइ ९यूएईएफआईयू० को वित्तीय ठगीसम्बन्धी प्रतिवेदनले यो जोखिम गम्भीर रहेको देखाएको छ। प्रतिवेदनअनुसार विश्लेषण गरिएका शंकास्पद कारोबारसम्बन्धी रिपोर्टमध्ये ३३ प्रतिशतमा मनी म्युल गतिविधिका संकेत भेटिएका थिए। ती गतिविधिसँग चार सयभन्दा बढी व्यक्ति सम्बन्धित देखिएका थिए, जसमा अधिकांश “ब्लु कलर” श्रमिक थिए। पार्टटाइम रोजगारी र अनलाइन टास्कको प्रलोभन देखाएर उनीहरूका बैंक खाता प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।
ठगीका अनेक रूप
यूएईको केन्द्रीय बैंकसँग सम्बन्धित आधिकारिक ‘नेसनल फ्रड अवेयरनेस प्लेटफर्म’ (fraud.gov.ae) ले बैंकको नक्कली एसएमएस र इमेल, बैंक अधिकारी बनेर फोन गर्ने, टेलिग्राममार्फत लगानीको प्रलोभन दिने, नक्कली रोजगारी, क्यूआर कोड र भुक्तानी लिंकमार्फत हुने ठगीलाई प्रमुख जोखिमका रूपमा औँल्याएको छ।
पोर्टलमा उल्लेख भएअनुसार इमिरेट्स आईडीको विवरण चोरी गरी अरूको नाममा खाता खोल्ने, नक्कली लगानी प्लेटफर्म देखाएर रकम असुल्ने र रकम फिर्ता गर्न थप शुल्क माग्ने प्रवृत्तिसमेत बढ्दो जोखिमका रूपमा रहेको छ। वट्सअपमा फोन गरेर आफु प्रहरी भएको र बैंक खाता “फ्रीज” भएको भन्दै बिभिन्न बिबरण माग्ने गरिएको छ ।
आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिने, अपरिचित व्यक्तिको रकम जम्मा गर्ने वा कमिसन लिएर रकम निकाल्ने काम गर्नु गैरकानूनी हो ।
बैंक खाता, एटीएम कार्ड, पिन, ओटीपी र इमिरेट्स आईडीको विवरण अरूलाई दिनु हुँदैन। दिएमा आफ्नो बैंकमा भएको पैसा गुमाउनु पर्नेछ । क्रेडिट कार्ड भएमा त झन यस्तो गल्ती बिलकुल गर्नु हॅुदैन ।ठगले कार्डबाट पेमेन्ट गरिदिन्छ जुन पछि फिर्ता आउने सम्भावना अत्यन्त न्यून हुन्छ ।
सहायता टोली गठन गर्न आवश्यक
नागरिकमा सामान्य सचेतना, आवश्यक सीप र जीवनोपयोगी ज्ञान विकास नगरी वैदेशिक रोजगारीमा पठाउँदा उनीहरू असुरक्षित हुने दुबई स्थित महाबाणिज्यदूतावासका एक अधिकारीले बताए। त्यसैले विदेश जानुअघि नै शिक्षा, सीप, कानुनी सचेतना र जीवन कौशल विकासमा राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा र विदेशमा जेल तथा हिरासतमा रहेका नागरिकको उद्धार एवं कानुनी सहायताका लागि सरकारले विशेष संयन्त्र बनाएर उद्दार पकृया अगाडि बनाउनु आवश्क रहेको छ ।
दूतावास र महावाणिज्यदूतावासमा छुट्टै जेल तथा हिरासत सहायता टोली गठन गर्न आवश्यक छ। फिलिपिन्सको अभ्यासअनुसार कम्तीमा एक अधिकृत र तीन कर्मचारी रहने गरी यस्तो संयन्त्र बनाउनुपर्छ। टोलीले नियमित जेल भ्रमण, कानुनी सहजीकरण, परिवारसँग समन्वय र नागरिकको अधिकार संरक्षणमा काम गर्नुपर्छ।