: उच्च जोखिमको सूचीमा रहेका चारवटा हिमतालको पानीको सतह घटाउन ‘सञ्जीवनी’ परियोजना सुरु गरिएको छ। संखुवासभाको लोअर बरुण, सोलुखुम्बुको होंगु–२ र लुम्दिङ तथा मनाङको थुलागी हिमतालको सतह घटाउन लागिएको हो।
हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न हरित जलवायु कोष (जीसीएफ) को सहयोगमा सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस परियोजनाको कुल लागत ४ करोड ९९ लाख ४४ हजार अमेरिकी डलर (करिब ५० मिलियन डलर) रहेको छ। कुल लगानीमध्ये हरित जलवायु कोषले ३ करोड ६१ लाख ६० हजार डलर, नेपाल सरकारले १ करोड १३ लाख २० हजार डलर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले २१ लाख ४० हजार डलर र निजी क्षेत्रले ३ लाख २० हजार डलर बेहोर्ने तय भएको छ।
यो परियोजना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत कार्यान्वयन हुनेछ। केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराईका अनुसार नेपाल सरकार र हरित जलवायु कोषबीच सम्झौता भएसँगै परियोजना सुरु भइसकेको छ र हाल यो पहिलो चरणमा छ।
‘सुरुवाती दुई वर्ष परियोजनाको डिजाइन, कार्यान्वयनको ढाँचा (मोडालिटी), परामर्श सेवा र कार्ययोजनालाई अन्तिम रूप दिनमै बित्नेछ,’ डा. भट्टराईले भने, ‘फिल्डमै गएर काम गर्न र ठेक्का प्रक्रिया (टेन्डर) मा जान यो र अर्को सिजन गरी करिब दुई वर्ष लाग्छ।’
परियोजनाअन्तर्गत मस्र्याङ्दी, दूधकोशी र अरुण करिडोरमा पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाइनेछ। ताल फुटेमा गण्डकीको मस्र्याङ्दी तथा पूर्वतर्फ दूधकोशी र अरुण नदी तटीय क्षेत्रमा बाढी आउने भएकाले ती क्षेत्रमा रहेका पुराना पूर्वाधारलाई स्तरोन्नति गर्दै सघन रूपमा काम गरिने भट्टराईले जानकारी दिए।
करिब आठ वर्षको गृहकार्यपछि तयार पारिएको यो परियोजना पूर्वचेतावनीमा मात्र सीमित नभई तालको सतह घटाउने कार्यसँग जोडिएको छ। निर्माणका क्रममा हुन सक्ने जोखिम रोक्न हिमतालको डिलको सूक्ष्म अध्ययन गरिनेछ। परियोजनाको मुख्य उद्देश्य चारवटै हिमतालको सतह घटाउनुका साथै तल्लो तटीय क्षेत्रको १०० देखि १५० किलोमिटरसम्म पूर्वचेतावनी प्रणाली जडान गर्नु र बायो–इन्जिनियरिङलगायतका सुरक्षात्मक काम गर्नु रहेको छ।
परियोजनाबाट प्रत्यक्ष रूपमा ३ लाख ८५ हजारभन्दा बढी र अप्रत्यक्ष रूपमा करिब २० लाख जनसंख्या लाभान्वित हुने लक्ष्य राखिएको छ। यसअन्तर्गत हिमनदी तथा हिमतालको अनुगमन प्रणाली सुदृढ गर्ने, जल तथा मौसम अवलोकन सञ्जाल विस्तार गर्ने र आकस्मिक बाढीको जोखिम घटाउने योजना छ।
परियोजनाका सबै चरणमा महिला, आदिवासी जनजाति, युवा, अपांगता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न लैंगिक समानता तथा सामाजिक समावेशीकरणको पक्षलाई समेत जोड दिइएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र यूएनडीपीले सन् २०२० मा जारी गरेको प्रतिवेदनअनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका ३ हजार ६२४ हिमतालमध्ये ४७ वटा जोखिमयुक्त छन्। तीमध्ये २५ वटा चीन, २१ वटा नेपाल र एउटा भारतमा पर्दछन्। नेपालका जोखिमयुक्त २१ मध्ये अत्यन्त उच्च जोखिममा रहेका चारवटा हिमतालको सतह घटाउन अहिले काम थालिएको हो।
हिमालको देशका रूपमा चिनिने नेपालमा हिमाल पर्यटन र अर्थतन्त्रको मुख्य आधार भए पनि हिमताल विस्फोटजस्ता विपद्ले बेलाबखत ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी पनि हिमताल विस्फोटकै कारण भएको विभिन्न अध्ययन प्रतिवेदन र वैज्ञानिकहरूको निष्कर्ष छ।