: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशकै लागि ‘लाइफलाइन‘ भएकाले यसलाई जसरी पनि निर्माण गर्नुपर्ने बताएका छन्।
बाराको सिमरामा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रभावित स्थानीय जनतालाई अन्यायमा नपर्ने गरी उचित पुनःस्थापना गरेर विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको भन्दा बढी क्षमतामा सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको तथा पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आ–आफ्नै सीमितता रहेकाले निजगढ विमानस्थलको विकल्प नभएको उनको भनाइ थियो। सरकारले लक्ष्य लिएको पर्यटन विकासको मुटु र केन्द्र निजगढ भएको बताउँदै उनले यसको निर्माणका लागि आफूले समेत पैरवी गर्ने बताए।
मन्त्री पौडेलले काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को निर्माण कार्य अबको तीन वर्षभित्र सम्पन्न हुने र द्रुतमार्ग निर्माण भएपछि मधेसमा मानिसहरूको आवागमन बढ्ने बताए। उनले मानिस आवागमनको चाप थेग्नका लागि तयार रहन आग्रह गर्दै ढुक्क भएर लगानी गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्।
‘द्रुतमार्ग बनेपछि बढ्ने मानिसको आवागमन थेग्नको लागि तयार रहनुहोला’ मन्त्री पौडेलले भने ‘त्यसैले पर्यटन व्यवसायीले दह्रो मुटु बनाएर ढुक्कले लगानी गर्नुस्।’ मन्त्री पौडेलले सिमरा पार्कको समेत अवलोकन गरेका छन्।
पार्क अवलोकन गर्दै मन्त्री पौडेलले सिमरा पार्कलाई 'बटरफ्लाई गार्डेन' र अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने बताए।