समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणा सहित मस्यौदा तयार गरी सरकार समक्ष पेस गर्ने कार्यादेश दिइएको छ ।
१० मंसिर, काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्य सहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ ।
यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका हुन् ।
मन्त्री श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रका संस्थाहरूका प्रतिनिधि र विज्ञसमेत रहेको समिति गठन गरेका हुन् ।
समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणा सहित मस्यौदा तयार गरी सरकार समक्ष पेस गर्ने कार्यादेश दिइएको छ ।
समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र सम्भावना आधार बनाएर आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत दिशा तय गर्ने अपेक्षा छ ।
नयाँ ऊर्जा नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापार एकीकृत दृष्टिकोणबाट अघि बढाउने र दीर्घकालीन ऊर्जा विकासका लागि स्पष्ट नीतिगत आधार तयार गर्ने सरकारको तयारी छ ।