। वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सक र कलेज प्रशासनबीच सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम रोकिएका छन् ।
सहमतिसँगै आवासीय चिकित्सकहरू आजैदेखि ड्युटीमा फर्किएका छन् । सहमतिमा आन्दोलनमा सहभागी भएको कारण कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव वा धम्की नदिने तथा कलेज वा छात्रावासबाट निष्कासन नगर्ने उल्लेख छ ।
सहमतिअनुसार आवासीय चिकित्सकहरूको हाजिरी विभागीय प्रमुख (एचओडी) ले पठाएको विवरण र पुष्टि अनुसार कायम गरिनेछ ।
२०८३ वैशाख १३ देखि कलेजमा हाजिर हुँदै ड्युटीमा खटेका चिकित्सकहरूको हाजिरी एचओडीको अभिलेखसँग मिलान गरिनेछ । यसका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डिन कार्यालयसँग समन्वय गरिने सहमतिमा उल्लेख छ ।
असहमतिको अवधिमा कसैलाई अनुपस्थित नजनाउने र बिदा स्वीकृतिका लागि विभागीय प्रमुख तथा कार्यक्रम संयोजक दुवैको हस्ताक्षरलाई पर्याप्त मान्ने सहमतिमा भनिएको छ ।
त्यस्तै, कटौती गरिएको असहमतिको अवधिसहितको सम्पूर्ण स्टाइपेन्ड फिर्ता गरिने भएको छ । स्त्री तथा प्रसूति रोग विभागका ६ जना आवासीय चिकित्सकको अनुपस्थिति र स्टाइपेन्ड विनासर्त फिर्ता गराउन पनि आईओएममा पहल गरिने सहमतिमा उल्लेख छ ।
अब आवासीय चिकित्सकलाई लगातार २४ घण्टाभन्दा बढी ड्युटीमा नखटाउने र ड्युटीपछि आवश्यक आरामको व्यवस्था आईओएमको निर्णयअनुसार गरिनेछ । सुपर स्पेसियालिटी रोटेसन आवश्यक परे पेरिफेरल पोस्टिङसमेत आईओएमको निर्णयअनुसार हुनेछ ।
‘आन्दोलनमा सहभागी भएकै कारण कुनै पनि आवासीय चिकित्सकलाई नियमित परीक्षामा सहभागी हुन अयोग्य नठहर्याउने तथा शोधपत्र (थेसिस) स्वीकृति र हस्ताक्षरमा अनावश्यक ढिलाइ नगर्ने,’ सहमतिपत्रमा भनिएको छ ।