मुख्य समाचार
ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात तथा सार्वजनिक सेवा प्रभावित
ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात तथा सार्वजनिक सेवा प्रभावित

। तलब वृद्धि, पेन्सन तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्दै ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात तथा सार्वजनिक सेवा प्रभावित भएका छन् ।

ग्रीसको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको ट्रेड युनियन एडेडवाई (ADEDY) तथा देशभरका दर्जनौँ श्रमिक केन्द्र र ट्रेड युनियनको आह्वानमा बुधवार हडताल भएको हो । हडतालका क्रममा राजधानी एथेन्ससहित देशका विभिन्न सहरमा प्रदर्शन भएका छन् ।

एथेन्समा प्रदर्शनकारीहरूले विभिन्न मागसहित नाराबाजी गर्दै संसद् भवनतर्फ र्‍याली निकालेका थिए । उनीहरूले तलब वृद्धि, पेन्सन तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न माग गरेका छन् ।

हडतालका कारण एथेन्समा मेट्रो, विद्युतीय रेल र ट्राम सेवा सीमित समयतालिकाअनुसार सञ्चालन भएका थिए । देशभरका बन्दरगाहमा फेरी सेवा ठप्प भएको थियो भने हवाई यातायातसमेत प्रभावित बनेको थियो ।


१५ वटा क्षेत्रीय विमानस्थलमा उडान सूचना सेवामा कार्यरत कर्मचारी हडतालमा सहभागी भएपछि एजियन एयरलाइन्स र एसकेवाई एक्सप्रेसले थुप्रै आन्तरिक उडान रद्द गरेका थिए । विद्यालय, सार्वजनिक अस्पताल र अन्य सरकारी सेवासमेत प्रभावित भएका थिए ।

हडतालको आह्वान गरेको एडेडवाईले देशका प्रमुख आर्थिक, श्रम तथा सामाजिक चुनौती समाधान गर्न प्रभावकारी नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ ।

प्रदर्शनमा सहभागी भायोलेटा गालानोपोलुले सार्वजनिक तथा निजी क्षेत्रका श्रमिकसँग ऐक्यबद्धता जनाउँदै आफूहरूले गुमाएको जीवनयापनको अधिकार पुन: प्राप्तिका लागि आवाज उठाएको बताइन् । उनले तलब वृद्धि, १३औँ र १४औँ महिनाको तलब तथा यसअघि कटौती गरिएका तलबमान पुन:स्थापना गर्नुपर्ने माग गरिन् ।

माध्यमिक शिक्षा सरकारी विद्यालय शिक्षक महासंघ (ओएलएमई) का अध्यक्ष आन्द्रियास कार्गोपोलोसले हजारौँ शिक्षक न्यून तलब, असुरक्षित विद्यालय भवन र शिक्षक अभावविरुद्ध हडतालमा उत्रिएको बताए । उनका अनुसार शिक्षकहरू न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् भने विद्यालय भवनको अवस्था पनि उपयुक्त छैन । विद्यालयमा शिक्षकको अभाव भइरहँदा व्यावसायिक संस्थाहरूको प्रायोजन भने बढिरहेको उनले टिप्पणी गरे ।

निर्माण, लेखा तथा खानी उद्योगलगायत निजी क्षेत्रका श्रमिक संगठन पनि हडतालमा सहभागी भएका थिए । प्रदर्शनकारीहरूले तलब वृद्धि, सार्वजनिक कर्मचारीका लागि कटौती गरिएका १३औँ र १४औँ महिनाको तलब पुन:स्थापना, विद्युत् तथा इन्धनको मूल्य घटाउन र अत्यावश्यक वस्तुमा मूल्य सीमा तोक्न माग गरेका छन् ।

त्यस्तै, आधारभूत उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) घटाउन तथा बढ्दो आवास संकट समाधान गर्न भाडा नियन्त्रणलगायतका उपाय अपनाउन पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।

ग्रीसमा आर्थिक मितव्ययितासम्बन्धी नीतिअन्तर्गत सार्वजनिक क्षेत्रका कर्मचारीले पाउँदै आएको १३औँ र १४औँ महिनाको तलब कटौती गरिएको थियो । पछिल्लो हडतालमा श्रमिक संगठनहरूले उक्त सुविधा पुन:स्थापनालाई प्रमुख माग बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह ...
: स्पेनको इबिजा टापुनजिकै ७ हजार टनसम्म डिजेल बोकेको माल्टा ध्वजावाहक ट्यांकर समुद्रमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । जहाजमा सवार १७ जना चालक दलका सदस्यको उद्धार गरिएकोमा सात जनालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको स्पेनको आपत्कालीन सेवाले जनाएको छ । अन्य छ जनाको अवस्था सामान्य रहेको बताइएको छ । ‘मेड ...
। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कुवेतमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नरहेको बताएका छन्। उक्त आक्रमणमा दुई जना इटालियन नागरिकको मृत्यु भएको थियो। उनले यो घटनालाई शङ्कास्पद भन्दै यो ‘युद्धका लागि पहिले नै तयार पारिएको योजना’ हुन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अराघचीले मृत्युप्रति आफ्ना इटालियन र कुवेती समकक्षीहरूलाई समवेदना व्यक्त ...
। युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अमेरिकासँग असन्तुष्टि व्यक्त गर्दै ब्यालिस्टिक मिसाइलको आपूर्तिमा भइरहेको ढिलाइका कारण युक्रेनी नागरिकहरूले ज्यान गुमाइरहनुपरेको बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्त दबाब सिर्जना गर्न नसकेको गुनासो पनि गरेका छन्। कीएभस्थित आफ्नो केन्द्रीय कार्यालयमा बीबीसीसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग अंकमाल ...
: कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटाली नागरिकको मृत्यु भएको छ। इटालीको विदेश मन्त्रालयले बिहीबार कुवेतमा भएको इरानी ड्रोन आक्रमणमा आफ्ना दुई नागरिकको मृत्यु भएको पुष्टि गरेको हो। बीबीसी फारसीका अनुसार ती दुवै नागरिक जर्मनीको हतियार निर्माता कम्पनी राइनमेटलका लागि काम गर्दै आएका थिए। यसअघि कुवेतले आफ्नो सशस्त्र बलले विभिन्न ‘शत्रु ड्रोन’ खसालेको जनाएको थियो। कुवेतको ...