: नेकपा संयोजक पुष्पकमल दाहालले शान्ति सम्झौता र संविधानसभाका सहयात्री दलबीच सहकार्यको प्रयास भइरहेको बताएका छन्। वामपन्थी एकताले मात्रै मुलुकको हालको संकट समाधान नहुने भन्दै दाहालले वाम–लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक भएको बताए।
‘वामपन्थीमात्रै मिलेर अहिलेको राष्ट्रिय संकट समाधान हुँदैन,’ दाहालले बिहीबार अन्नपूर्णसँगको कुराकानीमा भने, ‘१२ बुँदे समझदारीका सहयात्री र संविधानसभाका सहयात्री सबै मिल्नुपर्छ भनेर हामी संवादमा छौं। ती सबै दलहरूसँग सहकार्य अगाडि बढ्छ।’ राष्ट्र र राष्ट्रियतामाथि सरकार पक्षबाटै प्रहार भइरहेको आरोप लगाउँदै दाहालले ‘त्यसको सामना गर्न वाम एकताले मात्रै नहुने’ बताए।
‘१२ बुँदे शान्ति सम्झौताका समझदारी गर्ने, सम्झौता गर्ने र संविधानसभा पक्षधर राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता छ,’ दाहालले भने, ‘राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्रमाथि जसरी प्रहार भइरहेको छ, त्यसको रक्षाका निम्ति आउँदा निर्वाचनमा ती सबै शक्तिहरू एक ठाउँमा उभिएर सहकार्य गर्नुपर्छ।’
प्रदेश र स्थानीय तह निर्वाचन छुट्टाछुट्टै
नेकपा संयोजक दाहालले प्रदेश र स्थानीय तहको निर्वाचन छुट्टाछुट्टै मितिमा गर्नुपर्ने तर्क गरे। संविधान र कानुनले स्थानीय तह र प्रदेशसभाको कार्यकाल पाँच वर्ष तोकेकाले सोहीअनुसार चुनाव हुनुपर्ने दाहालको भनाइ थियो।
‘प्रदेशसभा र स्थानीय तहको चुनाव एकै मितिमा गर्दा फेरि देशमा राजनीतिक दुर्घटना हुने खतरा छ,’ दाहालले भने, ‘पाँच वर्षको कार्यकाल रहेको स्थानीय सरकार पूरा अवधि चल्न पाउनुपर्छ। त्यस्तै, पाँच वर्ष प्रदेशसभा पनि चल्न पाउनुपर्छ। त्यसो गर्दा प्रदेशसभाको अवधि मंसिर ५–७ गतेसम्म छ। स्थानीय तहको अवधि जेठ ५ गतेसम्म छ।’
जेठ ५ गतेलाई आधार बनाएर स्थानीय तहको निर्वाचन वैशाखमा हुनुपर्ने दाहालको भनाइ थियो। ‘०८४ मंसिर पहिलो सातालाई आधार बनाएर कात्तिक अन्तिम वा मंसिरको पहिलो साता प्रदेशसभा निर्वाचन हुनुपर्छ।’
प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक तर नयाँ उचाइ चुमेन
प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमण सकारात्मक भए पनि हल्ला गरेजस्तो विशिष्ट नभएको दाहालले बताए। ‘कम्तीमा सीमानाका बारेमा मैले र मोदीजी दुवै जनाले सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरेका थियौं– ‘हामी छिट्टै सीमा समस्या हल गर्छौँ। तर, अहिले त्यो स्तरमा बालेनको भारत भ्रमण पुगेन,’ दाहालले भने।
प्रधानमन्त्रीको भारत भ्रमण सामान्य र नियमितमात्रै भएको उनको तर्क थियो। ‘कोही–कोहीले यो भ्रमण विशिष्ट हो भनेर हल्ला गरिरहेका छन्। उत्पात भयो, इतिहास बन्यो भनेर भनेका छन्,’ पूर्वप्रधानमन्त्री दाहालले भने, ‘यो सही होइन। एकचोटि प्रधानमन्त्री भारत भ्रमणमा जानुपथ्र्यो। जानुभयो। गएपछि केही कुरा छलफल हुन्थ्यो, भयो। तर, नयाँ र तात्विक रूपमा ठूलो कुरो होइन।’
पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले भारत भ्रमणलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्रीले पर्याप्त पहल नगरेको आरोप लगाए। नेपालले आफू प्रधानमन्त्री वा परराष्ट्रमन्त्री भएका बेला विदेश भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श गर्ने गरेको स्मरण गरे। ‘विदेश भ्रमणका लागि विभिन्न तहमा तयारी र छलफल आवश्यक पर्छ,’ नेपालले भने, ‘तर हाम्रो प्रधानमन्त्रीमा अनुभवको कमी देखियो।’
‘छानबिन गरेर न्यायाधीशहरूमाथि महाभियोग’
नेकपा संयोजक दाहालले सर्वोच्च अदालतका न्यायाधीश र बिचौलिया इनम सापकोटाबीचको ‘सेटिङ’ बारे छानबिन गरेर दोषी देखिए न्यायाधीशहरूलाई महाभियोग लगाउनुपर्ने बताए। ‘न्यायाधीशहरूको कति विवादमा तानिए सरकारले छानबिन गरोस्,’ दाहालले भने, ‘संलग्नता देखिए महाभियोग लगाउन सकिन्छ।
त्यसैका लागि महाभियोगको प्रावधान छ। तर, पूर्वाग्रही ढंगले, प्रतिशोध साँध्ने ढंगले गर्यो भने त्यो गलत हुन्छ।’न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकारले सत्यतथ्यका आधार पत्ता लगाउन ढिला गर्न नहुने दाहालले बताए। ‘हामीले पनि विगतमा महाभियोग लगाउन संवैधानिक प्रावधान प्रयोग नगरेका होइनौं,’ दाहालले थपे, ‘महाभियोग प्रयोग नगरे त्यो प्रावधानै किन राखिन्थ्यो र ? तर, प्रतिशोधका आधारमा कसैमाथि महाभियोग लगाउनु हुन्न।’
आतंक र कन्फ्युजनको बाटोबाट सत्ता सञ्चालन
नेकपा संयोजक दाहालले संविधान, कानुन, विधि र परम्पराअनुसार सरकार सञ्चालन नभएको आरोप लगाए। पत्रकार, सञ्चार माध्यम, प्रहरी, अदालत, राजनीतिक वृत्तलगायत सबै क्षेत्रमा आतंक र कन्फ्युजन सिर्जना गरेर प्रधानमन्त्री बालेन शाहले सरकार चलाउन खोजेको दाहालको आरोप थियो।
‘मिडिया र पत्रकारहरूमाथि जुन किसिमले प्रहार गर्ने कोसिस भयो, बिचौलियाहरूलाई जसरी प्रयोग गर्ने कोसिस भयो र प्रधानमन्त्रीकै प्रमुख सल्लाहकार कुमार बेनले मोबाइल घरमा लगेर दुई दिनसम्म आफ्नो अनुकूलको सामग्री राख्ने र अरू झिक्ने कुराहरू भयो, योभन्दा लज्जास्पद र हास्यास्पद अरू हुनै सक्दैन,’ दाहालले भने, ‘यो नियम, कानुन, संविधानको मर्म र भावनाविपरीत छ। तर, सरकार यसका बारेमा अध्ययन र अनुसन्धान गर्न चाहँदैन भन्ने देखिराख्या छ।’ उनका अनुसार न्यायपालिकाको बारेमा त्यसरी नै बिचौलियालाई प्रयोग गरेर कुनै न कुनै रूपमा विवादमा तान्ने कोसिस भइराखेको छ।
नभए मधेसमा वामपन्थी प्रतिपक्ष बेन्चमा बस्ने
सहमति र सहकार्य नभए मधेस प्रदेश सरकारमा वामपन्थीहरू सहभागी नहुने नेकपा संयोजक दाहालले बताए। ‘मधेस प्रदेश सरकार सहमति र समझदारीबाट नै अगाडि बढ्नुपर्छ। अहिले प्रदेशलाई कमजोर पार्ने काम कहीँकतैबाट हुनुहुँदैन,’ दाहालले भने, ‘भयो भने सहमतिबाटै सरकार बन्नेछ, नभए हामी वामपन्थीहरू प्रतिपक्षमा बस्न तयार हुन्छौं। एक–दुई दिनमै तपाईंहरूले थाहा पाउनुहुनेछ।’
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरे पनि दलहरूबीच सहमति नजुट्दा सरकारले पूर्णता पाउन सकेको छैन।