मुख्य समाचार
मलेसिया ठगी प्रकरण : मन्त्रालयबाट गायब फाइल फेला, अनुसन्धान गर्न सीआईबीलाई बुझाइयो
मलेसिया ठगी प्रकरण : मन्त्रालयबाट गायब फाइल फेला, अनुसन्धान गर्न सीआईबीलाई बुझाइयो

। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको ठगी र रकम विदेश पठाइएको प्रकरणमा श्रम मन्त्रालयबाट गायब भएको फाइल फेला परेको छ ।

मन्त्रालयले उक्त प्रकरणको सक्कल फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हस्तान्तरण गरेको छ ।

मन्त्रालयबाटै अनुसन्धानसँग सम्बन्धित फाइल गायब भएपछि सीआईबीले पटक–पटक माग गर्दा पनि आवश्यक कागजात पाउन सकेको थिएन ।

श्रममन्त्री रामजी यादवले २ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा ३ सदस्यीय फाइल खोज कार्यदल गठन गरेका थिए ।


कार्यदललाई मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा संकलन गरिएको रकम म्याक्रोटेक कम्पनी मार्फत मलेसियाको बेस्टिनेट कम्पनीमा पठाइएको सम्बन्धमा आवश्यक कागजात तथा विवरण खोजी गर्ने जिम्मेवारी दिइएको थियो ।

कार्यदलले मन्त्रालयका विभिन्न शाखामा रहेका अभिलेख, कागजात तथा पुराना निर्णयका विवरण अध्ययन गर्दै गायब भएको भनिएको सक्कल फाइल खोजी गरेको थियो ।

कार्यदलले खोजेर ९ मंसिरमा मन्त्री र सचिवलाई फाइल बुझाएको थियो । बुझाइएको फाइल आज मन्त्रालयले सीआईबीलाई हस्तान्तरण गरेको हो ।

फाइल भेटिएसँगै यसअघि अनुसन्धानमा अवरोध बनेको महत्त्वपूर्ण कागजात प्रहरी पहुँचमा पुगेको छ । अब उक्त फाइलमा रहेका निर्णय, रकम विदेश पठाउन दिइएको स्वीकृति र त्यससँग सम्बन्धित कागजातका आधारमा अनुसन्धान अघि बढाउन सीआईबीलाई सहज हुने अपेक्षा छ ।

भेटिएका फाइलमा तत्कालीन श्रम सचिव एकनारायण अर्याल, विनोद केसी र तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवको पालामा निर्णय भएको देखिएको छ ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरी त्यसको ठूलो हिस्सा मलेसिया पठाइएको भन्दै सीआईबीले अनुसन्धान गर्दै आएको छ ।

सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार ७ लाख ५० हजार ९ सय ८८ नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा बढी रकम असुल गरिएको छ ।

यसरी संकलित रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाइएको अनुसन्धानमा खुलेको थियो ।

नेपाल राष्ट्र बैंकमा १६ पटक निवेदन दिएर १७ पटक टेलिग्राफिक ट्रान्स्फर (टीटी) मार्फत उक्त रकम मलेसिया पठाइएको अनुसन्धान अधिकृतहरूले बताएका थिए । रकम लक्ष्मी सनराइज बैंकको खाताबाट मलेसियास्थित बेस्टिनेटको मेलायन बैंकिङ बर्हाडमा पठाइएको थियो ।

सीआईबीका अनुसार उक्त रकम चार पटक मन्त्रीस्तरीय निर्णय गरेर विदेश पठाइएको खुलेको उल्लेख थियो । तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएका ती निर्णयका फाइल मन्त्रालयमा नभेटिएको सीआईबीले जनाएको थियो ।

चार पटकको मन्त्रीस्तरीय निर्णयबाट रकम विदेश पठाइएको देखिए पनि त्यसबाहेक रकम निरन्तर गएको अनुसन्धानबाट खुलेको थियो । रकम विदेश पठाउन स्वीकृति दिँदा के आधार र बेहोरा उल्लेख गरिएको थियो भन्ने विषय अनुसन्धानकै क्रममा थियो ।

३६ स्वास्थ्य संस्थामाथिको छानबिन प्रतिवेदन पनि गायब भएको थियो

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा भएको अनियमितताबारे मन्त्रालयले यसअघि पनि कार्यदल गठन गरेर छानबिन गरेको थियो । उपेन्द्र पौडेल नेतृत्वको कार्यदलले ३६ वटा स्वास्थ्य संस्थामा अनुगमन गरी छुट्टाछुट्टै प्रतिवेदन र मिसिल तयार पारेको थियो ।

ती संस्थाले म्याक्रोटेक प्रालिका नाममा अनधिकृत भ्याट बिल काटेर रकम उठाउने र बैंक खातामार्फत मलेसिया पठाउने गरेको विषय छानबिनमा उठाइएको थियो ।

कार्यदलले ठगी, संगठित अपराध, विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण लगायत विषयमा थप अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

तर, उक्त प्रतिवेदन र मिसिल नै मन्त्रालयबाट गायब भएको थियो । सीआईबीले पटक–पटक पत्राचार गर्दा पनि सक्कल प्रतिवेदन र मिसिल प्राप्त गर्न नसकेको जनाएको थियो । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मन्त्रालयसँग सम्बन्धित कागजात मागेको थियो ।

अनुगमन क्रममा श्रमिकबाट सरकारले तोकेको शुल्कभन्दा बढी रकम असुलिएको, स्वास्थ्य संस्थाहरूले म्याक्रोटेकका नाममा रकम उठाएको र त्यसको आर्थिक कारोबार पारदर्शी नभएको विषय समेत उठेको थियो ।

स्वास्थ्य परीक्षण शुल्कमा भएको भनिएको ठगी प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाउँदै व्यवसायी तथा तत्कालीन सरकारी अधिकारीहरूलाई पक्राउ गरेको छ ।

यसअघि कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी पक्राउ परेका थिए । त्यसपछि अनुसन्धान क्रममा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी लगायत सरकारी अधिकारीहरू पनि पक्राउ परेका थिए ।

तत्कालीन श्रम सचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको थियो । उनी फरार थिए भने आज उनी विराटनगरस्थित नेपाल भारत सीमाक्षेत्रबाट पक्राउ परेका छन् ।

उक्त प्रकरणमा संलग्नता देखिएको भन्दै काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते नै पक्राउ पुर्जी लिइएको थियो । तर, पक्राउ पुर्जी जारी भएपछि अर्याल भागेर भारत गएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र, विकास रानाभाट समेतको जाहेरीका आधारमा सीआईबीले उक्त प्रकरणमा अनुसन्धान गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा संयोजक पुष्पकमल दाहालले शान्ति सम्झौता र संविधानसभाका सहयात्री दलबीच सहकार्यको प्रयास भइरहेको बताएका छन्। वामपन्थी एकताले मात्रै मुलुकको हालको संकट समाधान नहुने भन्दै दाहालले वाम–लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक भएको बताए। ‘वामपन्थीमात्रै मिलेर अहिलेको राष्ट्रिय संकट समाधान हुँदैन,’ दाहालले बिहीबार अन्नपूर्णसँगको कुराकानीमा भने, ‘१२ बुँदे समझदारीका सहयात्री र संविधानसभाका सहयात्री सबै मिल्नुपर्छ भनेर हामी संवादमा ...
: मुलुकको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउने संवैधानिक व्यवस्था भए पनि प्रधानमन्त्री वालेन्द्र शाहले त्यसलाई बेवास्ता गरेका छन्। भारतको औपचारिक भ्रमणबाट फर्किएको चार दिन बित्दासमेत राष्ट्रपति पौडेलसँग भेटवार्ता नगरेका प्रधानमन्त्री शाहले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भने घण्टौं छलफल गरेका छन्। बिहीबार बूढानीलकण्ठस्थित लामिछाने निवास ...
। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बूढानीलकण्ठ गएका थिए । सभापति लामिछानेका स्वकीय अविनाश आचार्यका अनुसार सौहार्द रूपमा पाँच घण्टा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कार्य लगायतमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी गराएका ...
: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ। ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अर्याललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरोका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन्। समझदारीपत्र र कानुनी प्रक्रियाविपरीत ...
: सोनमा गाउँपालिकामा बिहीबार २२ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने सडकको शिलान्यास गरिएको छ। मधेशका पूर्वमुख्यमन्त्री एवं महोत्तरी क्षेत्र नम्बर ४ (क)का प्रदेशसभा सदस्य सरोज कुमार यादवले उक्त २ सडक योजनाहरूको शिलान्यास गरेका हुन्।सोनमा बजार हुँदै सरस्वती जनता माध्यमिक विद्यालयदेखि सिंहासनीसम्म जोड्ने सडक निर्माणका लागि १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको पूर्वमुख्यमन्त्री ...