मुख्य समाचार
वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न सरकारले म्यानपावर कम्पनी र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन सञ्चालन
वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न सरकारले म्यानपावर कम्पनी र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन सञ्चालन

। वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न सरकारले म्यानपावर कम्पनी र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन सञ्चालन गर्ने भएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार नेपाल प्रहरीले सरोकारवाला निकायसँगको समन्वयमा गैरकानुनी गतिविधिमा संलग्न म्यानपावर तथा कन्सल्टेन्सीमाथि गोप्य रूपमा सूचना संकलन गरी विशेष अप्रेसन चलाउन लागेको हो ।
४ मंसिरमा गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले वैदेशिक रोजगारी तथा कन्सल्टेन्सी मार्फत विदेश पठाउने क्रममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

बैठकले नेपाल प्रहरीले सरोकारवाला निकायसँगको समन्वयमा सूचना संकलन गरी गोप्यरूपमा प्रदर्शनात्मक प्रभाव पार्ने गरी एक साताभित्र विशेष अप्रेसन सञ्चालन गर्ने र त्यसलाई निरन्तरता दिने निर्णय गरेको थियो । अप्रेसनको प्रगति गृह मन्त्रालयलाई उपलब्ध गराउन समेत प्रहरीलाई निर्देशन दिइएको छ ।
सरकारले म्यानपावर तथा कन्सल्टेन्सीमा हुने गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा समूह पहिचान गरी उनीहरूमाथि निगरानी र कारबाही गर्ने तयारी गरेको हो ।

यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल प्रहरी, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागले आ–आफ्नो निकायमा छुट्टाछुट्टै लक्षित टोली गठन गर्ने निर्णय समेत बैठकले गरेको थियो ।

गठित टोलीले प्राप्त गर्ने सूचनामध्ये वैदेशिक रोजगार ठगीसम्बन्धी सूचना वैदेशिक रोजगार विभाग र मानव बेचबिखन सम्बन्धी सूचना नेपाल प्रहरीलाई उपलब्ध गराउनुपर्ने छ । प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायले आवश्यक कारबाही गर्नेछन् ।

त्यसरी गठन भएका लक्षित टोलीका प्रमुखहरूको समीक्षा बैठक युवा, श्रम तथा रोजगार मन्त्रालयको सम्बन्धित क्षेत्र हेर्ने सहसचिवको नेतृत्वमा साप्ताहिक रूपमा बस्ने र आवश्यक रणनीति तय गर्ने निर्णय समेत भएको छ ।

सरकारले वैदेशिक रोजगारी क्रममा एउटा काम देखाएर अर्को काममा लगाउने, करार सम्झौतामा उल्लेख भए अनुसार तलब तथा सेवा–सुविधा नदिने, भिजिट भिसामार्फत रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने र कन्सल्टेन्सीको आवरणमा विदेश पठाउने नाममा रकम असुल्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्य राखेको छ ।

म्यानपावर व्यवसायी तथा कन्सल्टेन्सी मार्फत हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले सरोकारवाला निकाय सम्मिलित विशेष कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री गुरुङ युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणबाट फर्किए लगत्तै यस विषयमा सक्रिय भएका थिए । नोभेम्बर १३ मा दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन २०२६’ मा सहभागी हुन यूएई पुगेका उनले अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा नेपाली समुदायसँग छलफल गरेका थिए ।

छलफलमा वैदेशिक रोजगारीका नाममा नेपाली नागरिक ठगिने र श्रम शोषणमा पर्ने गरेका गुनासा उठेका थिए । जवाफमा गृहमन्त्री गुरुङले यस्ता समस्या समाधान गर्न तत्काल ठोस कदम चाल्ने प्रतिबद्धता जनाएका थिए ।

वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा अपराधमा संलग्न जोसुकैलाई पनि उन्मुक्ति नदिने उनको भनाइ थियो ।

सोही प्रतिबद्धता कार्यान्वयन गर्ने र पीडितका गुनासालाई प्राथमिकतामा राख्ने उद्देश्यले उनले स्वदेश फर्किए लगत्तै उच्चस्तरीय बैठक बोलाएका थिए ।

बैठकमा श्रममन्त्री रामजी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव लगायतका उच्च अधिकारी, नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

बैठकमा वैदेशिक रोजगारी आवरणमा हुने आर्थिक ठगी, सम्झौता विपरीत श्रम शोषण, कन्सल्टेन्सी मार्फत हुने ठगी तथा भिजिट भिसा दुरुपयोग गरी विदेश पुर्‍याउने प्रवृत्ति तत्काल निरुत्साहित एवं निर्मूल पार्नुपर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरूलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । साथै, उक्त निर्णय फिर्ता लिन कांग्रेसले सरकारसँग माग पनि गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीले गरेको निर्णयबारे जानकारी गराउँदै जारी विज्ञप्तिमा सरकारले उक्त निर्णयप्रति पार्टीले गम्भीर आपत्ति प्रकट गरेको जनाइएको छ । ‘सरकारले सुकुमवासीका घर भत्कायो, व्यवस्थापन र ...
। नरदेवीको श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच काठमाडौंमा जारी छ । श्री श्वेतकाली (ङयातभूलू अजिमा) नाच नरदेवीको श्री श्वेतकाली घ:छे बाट देवी नाचको आरम्भ भएको हो । सो नाच आज तलेजु भवानी मन्दिर परिसरमा रहेको डबलीमा प्रस्तुत गरी सर्वसाधारणलाई देखाइएको हो । यो नाच कुमारी घरअगाडि रहेको डबली, नरदेवीलगायत विभिन्न स्थानमा देखाइन्छ ...
। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ । ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा आएको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि खर्चिन सरकारले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । बाढीपछिको पुनर्निर्माण तथा पुन:स्थापनासम्बन्धी सरोकारवाला जनप्रतिनिधि तथा पदाधिकारीसँग गत सोमबार प्रदेश सुशासन केन्द्र, जावलाखेलमा आयोजित समन्वय बैठकले ...
। सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालिकाको चरित्रहत्या, ब्ल्याकमेलिङ तथा अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ ...
। रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुमवासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया ...