मुख्य समाचार
बजार अनुगमनमा तोकिएको जरिबाना एक महिनाभित्र नतिरे सम्पत्ति रोक्कासम्मको कारबाही
बजार अनुगमनमा तोकिएको जरिबाना एक महिनाभित्र नतिरे सम्पत्ति रोक्कासम्मको कारबाही

। सरकारले बजार अनुगमन क्रममा तोकिएको जरिबाना रकम एक महिनाभित्र सरकारी राजस्व खातामा दाखिला गर्न सम्बन्धित व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सूचना जारी गर्दै जरिबाना तिर्न बाँकी रहेका सम्पूर्ण व्यवसायीहरूलाई यस्तो अल्टिमेटम दिएको हो ।

सूचनामा उपभोक्ताको हक, हित तथा अधिकार संरक्षण र स्वच्छ तथा प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि विभाग तथा मातहत कार्यालयहरूबाट विभिन्न मितिमा नियमित तथा आकस्मिक बजार अनुगमन गरिएको उल्लेख छ ।

सोही अनुगमन क्रममा प्रचलित कानुन विपरीत व्यवसाय सञ्चालन गरेको पाइएका व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ र दफा ३९ बमोजिम निरीक्षण अधिकृतबाट तत्काल जरिबाना गरिएको थियो ।


तर, कतिपय व्यावसायिक फर्म तथा प्रतिष्ठानले हालसम्म पनि उक्त जरिबाना रकम राजस्व खातामा दाखिला गरी त्यसको प्रमाण विभागमा पेस नगरेको अभिलेखबाट देखिएको विभागले जनाएको छ ।

विभागले प्रचलित कानुनका विभिन्न प्रावधान आधार मान्दै जरिबाना तिर्न बाँकी रहेका सम्पूर्ण व्यवसायीलाई सचेत गराएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा (५) र दफा ४०, उपभोक्ता संरक्षण नियमावली २०७६ को नियम २६, प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४, साझेदारी ऐन २०२०, कम्पनी ऐन २०६३, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१, गुणस्तर (प्रमाण–चिह्न) ऐन २०३७ तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ लगायत प्रचलित नेपाल कानुन बमोजिम जरिबाना तिर्न बाँकी सम्पूर्ण व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई सूचना प्रथम पटक प्रकाशित भएको मितिले एक महिनाभित्र तोकिएको जरिबाना बापत रकम दाखिला गर्न भनिएको छ ।

व्यवसायीहरूले उक्त रकम सरकारी राजस्व खातामा दाखिला गरी त्यसको सक्कल भौचर (रसिद) सहित विभागमा अनिवार्य जानकारी गराउनुपर्ने छ ।

राजस्व रकम दाखिला गर्न विभागले बैंक तथा खातासम्बन्धी विवरण समेत सार्वजनिक गरेको छ । जसअनुसार व्यवसायीले हिमालयन बैंकको नयाँ बानेश्वर शाखामा राजस्व शीर्षक नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३०७०५३५०१ प्रयोग गरी तोकिएको जरिबाना रकम जम्मा गर्नुपर्ने छ ।

तोकिएको एक महिनाको म्यादभित्र जरिबाना रकम दाखिला नगरे विभागले तीन प्रकारका कडा कानुनी कारबाही अगाडि बढाउने चेतावनी दिएको छ ।

जसअनुसार पहिलो कारबाहीका रूपमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९(५) तथा दफा ४० बमोजिम सम्बन्धित व्यावसायिक फर्म, पसल वा प्रतिष्ठानमा शिलबन्दी गरी व्यावसायिक कारोबार तत्काल रोक्का गरिने छ ।

दोस्रो कारबाही अन्तर्गत प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४, कम्पनी ऐन २०६३ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित फर्म वा कम्पनीको दर्ता खारेज गर्न तथा अन्य सरकारी निकायबाट प्राप्त इजाजतपत्र वा अनुमतिपत्र निलम्बन वा खारेज गर्न लेखी पठाइने विभागको भनाइ छ ।

त्यस्तै तेस्रो कारबाहीका रूपमा तोकिएको जरिबाना रकम सरकारी बाँकीसरह असुलउपर गर्न सम्बन्धित मालपोत कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू मार्फत व्यवसायीको चलअचल सम्पत्ति तथा बैंक खाता रोक्का राख्ने प्रक्रिया समेत अगाडि बढाइने सूचनामा उल्लेख छ ।

जरिबाना रकम दाखिला गर्न आवश्यक पर्ने राजस्व शीर्षक, कार्यालय कोड तथा बैंक खातासम्बन्धी थप विस्तृत जानकारीका लागि विभागको आधिकारिक वेबसाइट हेर्न वा विभागको टोल फ्रि नम्बर ११३७ मा सम्पर्क राख्न सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा रहेको बताए। उक्त विषय पनि नयाँ म्यान्डेट र दृष्टिकोणअनुसार अघि बढ्ने ...
। चीन भ्रमणबाट फर्किएको सत्तारुढ दल रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । भेटमा भ्रमण टोलीको तर्फबाट पार्टी महामन्त्री विपिनकुमार आचार्यले लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन् । भेटमा आचार्यले चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको लामो तथा उच्चस्तरीय भेटवार्ताबारे सभापति लामिछानेलाई विशेष जानकारी गराए । केन्द्रीय तहदेखि काउन्टीसम्मका अन्य नेताहरूसँगको संवादमा दुई पार्टीबीचको ...
। नेपाल विद्युत् प्राधिकरणले बागलुङ पश्चिममा रहेको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत पुर्‍याएको हो । कपिलवस्तु मोतीपुरबाट अर्घाखाँची सन्धिखर्क, गुल्मी तम्घास र पौँदीअमराइ हुँदै बागलुङ बुर्तिबाङसम्मको १३२ केभी प्रसारण लाइन तथा बुर्तिबाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसन ...
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तय गरिएको बताएकी छन्। नवौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री वादीले सामाजिक सुरक्षा कोषमा राहत शिक्षक र बाल विकास सहजकर्तालाई पनि समावेश गरिने आश्वासन दिइन्। उनले ...
: काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार अदालतमा पेश गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । अदालत ल्याउनुअघि अर्याललाई सरकारी वकिलको कार्यालयमा पुराइएको थियो । त्यसपछि प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो । मलेसियाको वैदेशिक रोजगारीको ...