: प्रतिनिधि सभा सदस्य डा. गङ्गालक्ष्मी अवालले व्यवस्थापन बिना होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई हटाउन नहुने बताएकी छन् । सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिवद्धतासहित होल्डिङ सेन्टरमा राखेका नागरिकलाई ८ महिना बितिसक्दा पनि व्यवस्थापन बिना हटाउन लागेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।
शुक्रबार बिहान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रस्थित होल्डिङ सेन्टर अवलोकन गर्न पुगेकी प्रतिनिधि सभा सदस्य अवालले त्यहाँ रहेका विस्थापित सुकुम्बासीको समस्या गम्भीर रहेको बताइन् । लालपुर्जा नदिइ नहटाइदिन उहाँहरुको अनुरोध छ,'उनले भनिन्, 'वृद्ध अभिभावक र दूधे बालक च्यापेर यो जाडोमा कहाँ जाने भन्ने उहाँहरूको चिन्ता रहेछ ।'
उनले राज्य निर्मम बन्नु नहुने बताउँदै विस्थापित नागरिकको पुनर्वासको जिम्मेवारी सरकार स्वयंले पूरा गर्नुपर्नेमा जोड दिएकी छन् ।' उहाँहरू रहरले बस्नु भएको होइन,राज्यले उचित व्यवस्थापन नगरी हटाउन हुँदैन ,'उनले भनिन् ।
आफूले यसबारे भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्कासँग समन्वय गरिरहेको र गृहमन्त्री सुधन गुरुङसँग पनि कुरा गर्ने उनले बताइन् ।
उनीसँगै तत्कालीन सुकुम्बासी तथा भूमिहीन समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्ष केशव निरौला समेत अवलोकनमा सहभागी थिए । उनी नेपाली कांग्रेसको तर्फबाट होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरण गर्न संयोजकको जिम्मेवारी पाएका केन्द्रीय सदस्य समेत हुन् ।
नेपाली कांग्रेसले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको र कम्तिमा टेक्ने जमिन,टाउको लुकाउने छत,दुई छाक खान पाउने ग्यारेन्टी र आयआर्जनको वातावरण बनाइदिन समन्वय गर्ने उनीहरुले आश्वासन दिएका होल्डिङ सेन्टरका सुकुम्बासी दलमर्दन कामीले जानकारी दिए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले बुधबार एक सूचना जारी गरी होल्डिङ सेन्टर खाली गर्न तीनदिनको म्याद दिएका थिए। सरकारले बिना व्यवस्थापन हटाउने तयारी गरेको भन्दै आलोचना भइरहेको छ । प्रमुख जिल्ला अधिकारी खड्काले भने भूमि समस्या समाधान समिति काठमाडौंको पत्रानुसार सूचना जारी गरिएको बताएका छन् ।
बोडेस्थित होल्डिङ सेन्टरमा हाल १९ परिवार मध्ये ७ परिवारको घरमूली वा तीनका परिवारका सदस्यहरूको नाममा जग्गा भेटिएकोले उनीहरू भूमिहीन ठहर नभएको उनको भनाइ छ। १२ परिवारको हकमा सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र सोको निस्सा लिएर होल्डिङ सेन्टर छोड्न भनिएको प्रजिअ खड्काले बताए । सुकुम्बासीहरू भने ८ महिना बितिसक्दा पनि उधारो सम्झौता नमान्ने र होल्डिङ सेन्टर नछाड्ने अडानमा छन् ।
गत वैशाख १२ गते सरकारले काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा काठमाडौंस्थित थापाथली,मनोहरा,सिनामंगल लगायतबाट विस्थापित परिवार मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंक र चाँगुनारायणको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका छन् । बोडेमा १९ परिवारका ५९ जना बसोबास गरिरहेका छन् भने खरिपाटीमा ३२ परिवारका ७८ जना विस्थापित बसिरहेका छन् ।