मुम्बईमा आतंकवादी हमलाको १८औँ वार्षिकीका दिन अभिनेता अमिताभ बच्चनको घर ‘जलसा’ र गायक दिलजीत दोसाँझको कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ ।
मुम्बईकी मेयर ऋतु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको हो । उक्त इमेलमा बृहन्मुम्बई महानगरपालिका मुख्यालयस्थित मेयरको कार्यालय, मुम्बई मेट्रो सञ्जालसहित विभिन्न महत्त्वपूर्ण स्थानमा विस्फोट गराउने चेतावनी दिइएको छ ।
त्यस्तै, नोभेम्बर २७ मा महालक्ष्मी रेसकोर्समा आयोजना हुने गायक दिलजीत दोसाँझको कन्सर्टलाई पनि निशाना बनाइएको छ ।
इमेलमा खालिस्तान र सन् १९८४ का सिखविरोधी दंगाको प्रसंग उल्लेख गर्दै ‘बब्बर खालसा’ र ‘खालिस्तान नेसनल आर्मी’ नामका संगठनको उल्लेख गरिएको छ । मुम्बईमा दिलजीतको कन्सर्ट आयोजना गरिए लगातार ३० दिनसम्म ग्रिनेड आक्रमण गर्ने चेतावनी इमेलमा दिइएको छ ।
दिलजीत दोसाँझले नोभेम्बर २७ मा मुम्बईमा कन्सर्ट गर्दैछन् ।
बेंगलुरु कन्सर्टमा पनि विस्फोट गराउने धम्की
मुम्बईअघि दिलजीत दोसाँझको बेंगलुरुमा हुने कार्यक्रमलाई लिएर पनि धम्की आएको थियो । दुई दिनअघि प्राप्त इमेलमा नोभेम्बर २९ मा बेंगलुरुको मडावारास्थित नाइस ग्राउन्डमा आयोजना हुने दिलजीतको कन्सर्टका क्रममा आईईडी विस्फोट गराउने चेतावनी दिइएको थियो ।
लगातार धम्की आउन थालेपछि सार्वजनिक कार्यक्रम र संवेदनशील स्थानको सुरक्षालाई लिएर सुरक्षा निकाय सतर्क भएका छन् ।
नोभेम्बर १२ मा पनि धम्कीपूर्ण इमेल आएको थियो
अमिताभ बच्चनको घर ‘जलसा’, बीएमसी मुख्यालय र मुम्बईका अन्य प्रमुख स्थानलाई यसअघि पनि धम्की प्राप्त हुँदै आएको छ । यसै महिनाको नोभेम्बर १२ मा प्राप्त धम्कीपूर्ण इमेलपछि प्रशासन र सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको थियो ।
त्यस इमेलमा छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल, महालक्ष्मी स्टेडियम, मेयरको कार्यालय, अमिताभ बच्चनको घर ‘जलसा’ र पञ्जाब नेसनल बैंकको एउटा शाखामा बम विस्फोट गराउने धम्की दिइएको थियो ।
नोभेम्बर १ मा अमिताभ बच्चन बुलेटप्रुफ सिसाको पछाडि बसेर प्रशंसकहरूसँग भेटेका थिए ।
त्यस्तै, नोभेम्बर १८ मा ग्याङस्टर गोल्डी ढिल्लोंले बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई ज्यान मार्ने धम्की दिएका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उनीहरूले जतिसुकै बुलेटप्रुफ सुरक्षा व्यवस्था गरे पनि गोली हान्ने चेतावनी दिएका थिए ।
अक्टोबर २३ र नोभेम्बर ६ मा पनि इमेलमार्फत अमिताभको घर ‘जलसा’ लाई बमले उडाउने धम्की आएको थियो । अक्टोबर २३ यता अमिताभलाई यो पाँचौँपटक धम्की आएको हो ।