: पहिरो रोकथामको काम गर्न नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
तुइनखोलाको पहिरो नियन्त्रणको काम अघि बढाउन र सम्भावित जोखिम हुन नदिन सवारी आवागमन बन्द गर्न लागिएको हो । मङ्सिर १३ गते आइतबारदेखि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म यातायात बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन् ।
यसअघि केही समय काम गरेर रोकिएको पहिरो नियन्त्रणको काम आइतबारदेखि पुनः सञ्चालन गर्ने भनी जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । तुइनखोलामा पहिरो खसेर वर्षायाममा बढी दुःख दिने गरेको छ ।
विगत दुई वर्षदेखि वर्षायाममा पहिरो खसेर यो सडक अवरुद्ध हुँदै आएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक करिब १२ हजार सवारीसाधन गुड्ने गर्छन् ।