। नारायणी नदीमा प्रस्तावित सिग्नेचर पुल निर्माणको काम अगाडि नबढेपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेक्का तोड्ने चेतावनी दिएका छन् ।
पुल निर्माणस्थलको अवलोकन गर्न पुगेका मन्त्री लम्सालले पुल निर्माणको भौतिक प्रगति ज्याँदै कम देखेपछि ठेक्का तोड्ने धम्की दिएका हुन् ।
‘यो ठेकेदारले देशभरीका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकसर्टमा सबै टर्मिनेट गरिदिने हो,’ मन्त्री लम्सालले भने, ‘यस्ताले देशलाई नै क्रोनिक बनाउछन् । अर्कोपटक आउँदा कि तालिकामा काम हुनुपर्यो या ठेक्का तोडेको हुनुपर्छ ।’
पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको देशभरीका प्रोजेक्टको प्रगति विवरण तयार गर्न पनि निर्देशन दिए ।
नारायणी नदीमा निर्माणाधीन नयाँ पुलको काम महिनौंदेखि ठप्प बनेको छ । भोटेकोशी र बुढीगण्डकी नदीमा बाढी आएपछि पुलको काम रोकिएको हो ।
पुल निर्माणको ठेक्का तुन्दी कन्स्ट्रक्सनले लिएको छ । तुन्दीले डिजाइन एन्ड विल्डको आधारमा ठेक्का लिएको थियो । जसको म्याद सकिन अब ६ महिना मात्र बाँकी छ ।
पुल सेक्टर पोखराका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) कृष्णराज अधिकारीले नारायणी नदीमा बाढी आउन थालेपछि ठेकेदारले काम रोकेको बताए । तुन्दी कन्स्ट्रक्सन प्रालिले मूल्यअभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ रुपैयाँमा पाएको हो ।
चार वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि सो कम्पनीसँग सन् २०२३ जुन २ (२०८० साल जेठ १९ गते) मा सम्झौता भएको थियो ।
आगामी जेठमा निर्माणको म्याद सकिँदै छ । तर, अहिलेसम्म पुल निर्माणको कामले गति लिन सकेको छैन । हालसम्म ३ प्रतिशत मात्रै निर्माण प्रगती भएको बताइएको छ ।
पुल सेक्टर कार्यालय पोखराका प्रमुख अधिकारीले वर्षाका कारण रोकिएको निर्माण छठ सकिएपछि पुन: सुरु हुने बताएपछि काम सुरु भएको छैन ।
नारायणी नदीमाथि निर्माण हुने यो पुल ४ सय २० मिटर लामो हुनेछ । नयाँ बन्ने सिग्नेचर पुल साढे सात मिटर फराकिलो हुनेछ । त्यसमा दुईवटा लेन र साढे तीन मिटरको फुटपाथ हुनेछ ।
सिग्नेचर बिज्र भएको हुनाले दुई छेउमा मुख्य आकर्षक दुई पिलर रहनेछन् । दुई पिलरबीच २१० मिटरको दूरी हुनेछ ।
जम्मा चार वटा पिल्लर रहने यस पुलको तलबाट साना पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन तयार थियो ।