। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन् ।
रास्वपाले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै लामिछानेले विकासलाई निर्वाचनको परिणामसँग जोड्न नहुने बताएका हुन् ।
‘तपाईंले हाम्रा उम्मेदवारलाई विजय गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन । कर्णालीले विकास मागेको छ, खोजेको छ,’ सभापति लामिछानेले भने, ‘चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेलसम्म कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहने छ ।’
लामिछानेले कर्णालीसँग विकासका नाममा राजनीतिक सौदाबाजी नगर्ने पनि स्पष्ट पारे । आफ्नो पार्टीले उम्मेदवार जिताए मात्रै विकास दिने वा पुल र सडक बनाउने आश्वासन दिएर मत माग्ने राजनीति नगर्ने उनको भनाइ छ ।
‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं । हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं, हाम्रा मान्छेलाई जितायौ भने पुल बन्छ, बाटो बन्छ भनेर कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौं,’ उनले भने ।
कर्णालीका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सभापति लामिछानेले राजनीति चुनावका लागि मात्रै गरिने विषय नभएको बताए । ‘राजनीति चुनावका लागि गर्ने विषय होइन । चुनाव मात्रै राजनीति होइन,’ लामिछानेले भने, ‘राजनीतिभित्र चुनाव एउटा निरन्तरको प्रक्रिया हो। चुनाव मात्रै राजनीति हो भन्ने कुरामा रास्वपा विश्वास गर्दैन ।’
उनले कर्णालीमा पार्टीको आवाज दूरदराजसम्म पु¥याउन नसकेको र अन्य प्रदेशको तुलनामा संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गरे । ‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँहरूको जस्तो हुन सकेन । पार्टीका रुपमा उम्मेदवारलाई जिताएर संसद् लैजाने हकमा हामी कर्णालीमा पछाडि पर्यौं,’ लामिछानेले भने, ‘हाम्रो आवाज कर्णालीको दूर दराजमा पुग्न सकेन । पुर्याउन सकेनौं हामीले । र, कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरु प्रदेशको तुलनामा कमजोर हुन गयो ।’