मुख्य समाचार
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने

। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोविता गौतम र महिला, बालबालिकामन्त्री सीता वादी सहभागी थिए ।

त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, बोर्ड सदस्यहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।


प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन् । मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् ।

३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार पौडी र शारीरिक सुगठनसहितका खेलबाट ६६ पदकको टुंगो लाग्नेछ ।

फ्लडलाइटदेखि कभर्डहलसम्मका योजना

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दशौं राष्ट्रिय खेलकुदका क्रममा कर्णाली प्रदेश रङ्गशालामा फ्लडलाइटको आवश्यकता महसुस भएको बताएका छन् ।

रातिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी रङ्गशालामा फ्लडलाइट जडान गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमै नेपाल सरकारको सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । त्यसका लागि प्राविधिक टोलीसमेत रङ्गशालामा पुगिसकेको उनले बताए ।

‘चालु आर्थिक वर्षमै नेपाल सरकारको सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको प्रक्रिया अगाडि बढेको छ । आजै प्राविधिकहरू पनि यस रङ्गशालामा आइपुग्नुभएको छ,’ उनले भने ।

मेहताले कर्णालीमा २५ देखि ३० करोड रुपैयाँ लगानीमा कभर्डहल निर्माण गर्ने योजना पनि सार्वजनिक गरे । त्यसका लागि जग्गा खोजी भइरहेको र स्थानीय सरकारसँग जग्गा उपलब्ध गराउन आग्रह गरिएको उनले बताए ।

‘कभर्डहल निर्माणका लागि पनि जग्गाको खोजी भइरहेको छ । स्थानीयस्तरमा नगरप्रमुखसँग र यहाँको सरकारसँग मैले जग्गा उपलब्ध गराइदिन आग्रह गरेको छु । त्यसमा पनि जग्गा प्राप्त हुने अवस्था भइसकेको छ,’ उनले भने ।

उनका अनुसार जग्गा प्राप्त भएपछि कभर्डहल निर्माणका लागि चालु आर्थिक वर्षमै टेन्डर प्रक्रिया सुरु गरिनेछ ।

त्यसैगरी क्रिकेट रङ्गशाला निर्माणका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको मेहताले जानकारी दिए । उक्त बजेट क्रिकेट रङ्गशालाको संरचना निर्माण तथा खेलकुदका आवश्यक पूर्वाधार तयार गर्न खर्च गरिने उनको भनाइ छ । यसका लागि पनि सहरी विकास मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने प्रयास भइरहेको उनले बताए ।

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुदका अधिकांश खेल सुर्खेतमा सञ्चालन भइरहेका छन् ।

पूर्वाधार अभावका कारण केही खेल लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि आयोजना गरिएका छन् । प्रतियोगिताका विभिन्न खेल अन्य जिल्लाका खेलस्थलमा समेत सञ्चालन भइरहेका छन् ।

प्रतियोगिताका लागि खेलस्थल, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा कर्णालीका विभिन्न जिल्लाको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा झल्किने सांस्कृतिक प्रस्तुति राख्ने तयारी गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगिताको समापन मंसिर २७ गते हुनेछ । प्रतियोगिताले कर्णालीमा खेलकुदको विकास र खेल पूर्वाधार विस्तारका लागि अवसर सिर्जना गरेको छ ।

प्रतियोगिताका क्रममा देखिएका पूर्वाधारका आवश्यकता सम्बोधन गर्न फ्लडलाइट, कभर्डहल र क्रिकेट रङ्गशाला निर्माणका योजना अघि बढाइएको परिषद्का सदस्यसचिव मेहताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिटको लागत इस्टिमेट तयार गरेर पठाउन निर्देशन दिएका छन् । रामपुरमा निर्माणाधीन रंगशालाको निरीक्षणपछि मन्त्री लम्सालले तीन महिनाभित्र लागत इस्टिमेट तयार गरेर मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् । त्यसका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्ने बताए । मन्त्री लम्सालले उनले आगामी सिजनको नेपाल ...
: काठमाडौं उपत्यकाका २० विद्यालयका करिब ९०० बालबालिकाको सहभागितामा आयोजित १४ औँ किन्डर ओलम्पिकको पहिलो चरणको खेलकुद कार्यक्रम भएको छ। शनिबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा बालबालिकाले २१ प्रकारका विभिन्न खेलमा उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा एकता टिमका प्रतिनिधिहरूले संयुक्तरूपमा बेलुन उडाएर गरेका थिए। ...
: १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई-दुई अंक प्राप्त गरेको भएपनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको हो । यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल ...
। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चारभित्र पर्न नसकेको नेपालले सन् २०२७ को एकदिवसीय विश्वकप खेल्ने सम्भावना जीवित राख्न अब क्वालिफायर प्लेअफ खेल्दै छ। घरेलु मैदानमै हुने प्रतियोगितामा शीर्ष चारमा पर्न सके नेपालले विश्वकप छनोटको अर्को चरण अर्थात् ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। यसअघि सन् २०२३ को विश्वकप छनोटमा सिधै प्रतिस्पर्धा गरेको नेपालले यसपटक भने ...
। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट करातेका विभिन्न विधामा प्रारम्भिक चरणका खेल सम्पन्न भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रतियोगितामा १२ विधाका ९६ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। क्वार्टरफाइनलमा पुग्नेमा महिलातर्फ ४० र पुरुषतर्फ विभिन्न तौल समूहका ५६ खेलाडी छन्। त्यस्तै, महिला र पुरुष कातातर्फ समान चार–चार जना गरी आठ खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्। फुलकन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक कुमार ...