: जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ।
जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो।
दशकौंदेखि भगवान रामसीताको विवाहको दिनलाई जिवन्त पार्दै जनकपुरमा सीताराम विवाह पञ्चमी महोत्सव मनाउँदै आएको हो।
जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने बताए। उनले राम–सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई पवित्रस्थलबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिन निमन्त्रणा टोली अयोध्या प्रस्थान गरेको जानकारी दिए।
टोलीले विवाह पञ्चमी महोत्सवको निमन्त्रणासँगै फलफूल, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लिएर गएको छ। मिथिलाको वैवाहिक संस्कारमा बेहुलापक्षलाई सम्मानपूर्वक भार तथा उपहार पठाउने परम्परा रहिआएको छ। जनकपुरधाममा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन राम–सीताको विवाहको स्मरणमा सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। महोत्सवका क्रममा राम–सीताको स्वयंवर, तिलकोत्सव, मटकोर, शुभविवाह, रामकलेवा लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएका छन्।
विवाह पञ्चमी महोत्सवमा नेपाल तथा भारतका हजारौँ श्रद्धालु सहभागी हुने गरेका छन्। विशेषगरी अयोध्याबाट जन्ती आउने र जनकपुरधाममा मिथिलाको परम्पराअनुसार स्वागत तथा विवाह उत्सव मनाउने चलनले यस महोत्सवलाई विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्व प्रदान गरेको छ। सप्ताहव्यापी विवाह पञ्चमीले जनकपुरमा नेपालको परिचय बोक्छ। यसले नेपाल–भारत सम्बन्ध सेतुको प्रतीकका रूपमा चिनाउँछ।