मुख्य समाचार
नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि
नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि

। विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको छ ।

मंसिर १६ गतेदेखि २७ गतेसम्म औपचारिक रुपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेलहरु ८ गतेदेखि सुरु भइसकेका छन् ।

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ (गैरआवासीय नेपाली संघ–खेलकुद प्रतिष्ठान) ले प्रतियोगितामा आफ्नो सहभागिता, तयारी र हालसम्मका नतिजाबारे शनिबार पत्रकार सम्मेलन गराएर जानकारी गराएको हो ।

विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यका साथ एनआरएनएले यसपटक ११ खेलमा प्रतिस्पर्धा गरेको एनआरएनएका युवा उपाध्यक्ष एवं स्पोर्टस एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाले जानकारी दिए ।


प्रतियोगितामा व्यक्तिगततर्फ एथ्लेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल–कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको पनि उल्लेख गरे ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि प्रतियोगिताको समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्टस एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए ।

१०औं राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीबाट विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा ७९ विधा तथा तौल समूहमा एनआरएनएले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन् । नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका विभिन्न २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीहरूले उल्लेखनीय सफलता हात पारेका छन् । त्यसमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन् ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्र मा हस्ताक्षर गरेसँगै पहिलो पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेको थियो ।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो । यसपटक भने कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रममा भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीहरुलाई खेलकुदको माध्यमबाट मातृभूमीसँग जोड्ने अभियानमा रहेको बताए । यसैगरी आगामी दिनमा एनआरएनएले नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा पनि काम गर्न तयार रहेको बताए ।

उपाध्यक्ष तथा १०औं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सवैको साथ सहयोगले प्रतियोगितामा सहभागिता जनाएको उल्लेख गरे । उनले खेलाडीहरुको सुविधामा कुनै कसर बाँकी नराख्ने बताउँदै सहयोग गर्नका लागि आइसीसीका सवैलाई अपिल पनि गरे ।

यस्तै, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली)ले एनआरएनएको सहभागिता विभागी टिमहरुसँग प्रतिस्पर्धा भन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागी भएको बताए । यस्तै, आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने पनि अपेक्षा गरे ।

महासचिव डा. चिरञ्जीवि खड्काले एनआरएनए खेलाडीहरुको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा एनआरएन खेलाडीहरुको छनोट प्रक्रिया लगायतका विषयमा जिज्ञाषा राखेका थिए । जवाफमा प्राविधिक निर्देशक रवि शाहीले सवै कागजात हेरेरमात्रै खेलाडी खेलाएको बताउँदै समस्या नहुने प्रष्ट पारे । एनआरएनएले शनिबार नै १०औं राष्ट्रिय खेलकुदमा सहभागि हुन जाने केही खेलाडीलाई पनि विदाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तपाईं संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत हुनुहुन्छ ? तपाईंको राहदानी (पासपोर्ट) कम्पनीले राखेको छ ? यदि त्यसो हो भने यूएईको कानुनअनुसार तपाईंले आफ्नो पासपोर्ट आफैँसँग राख्न पाउनुहुन्छ । यूएईको संघीय श्रम कानुनले रोजगारदाताले श्रमिकका आधिकारिक कागजात नियन्त्रणमा राख्न नपाउने व्यवस्था गरेको छ । यसमा पासपोर्टसमेत पर्छ । पासपोर्ट श्रमिकको व्यक्तिगत अधिकार भएकाले रोजगारदाताले आफ्नो ...
। साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणमा अन्य नेपाली घाइते पनि भएका छन् । गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जानकारी विहीबार पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दु:खद निधन ...
: संयुक्त अरब इमिरेट्स (यूएई) मा अनलाइन ठगी गर्ने गिरोहको जालोमा नेपाली श्रमिकहरु फस्ने गरेको पाईएको छ । विशेषगरी टेलिग्राममार्फत आकर्षक आम्दानी र पार्टटाइम कामको प्रलोभन देखाएर नेपालीको बैंक खाता प्रयोग गरी गैरकानुनी आर्थिक कारोबार गरेको पाएपछि उनीहरु कानूनी समस्यामा पर्ने गरेका हुन् । यसरी ठगीमा पर्ने नेपालीको यकिन तथ्यांक उपलब्ध नभए पनि संख्या ठूलो ...
। अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले अमेरिका बस्ने नेपाली समुदायमार्फत पनि नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बताएका छन् । नेपाली महावाणिज्यदूतावास टेक्ससद्वारा मंगलवार आयोजित पत्रकार तथा स्थानीय नेपाली समुदायसँगको भेटमा कार्यवाहक राजदूत आरणले यस्तो बताएका हुन् । ‘नेपाली समुदायको बसोबास धेरै भएका स्थानमा त्यहाँका कांग्रेसम्यान र सिनेटरसम्म तपाईँहरूले हाम्रो पहुँच बनाइदिन सक्नुहुन्छ,’ भेटमा ...
। रोमानियामा तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारले कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाएको छ । श्रमिकका गुनासो सम्बोधन गर्न सम्बन्धित नेपाली दूतावाससँग समन्वय गरिरहेको सरकारले उनीहरूलाई रोमानिया पठाउने प्रक्रियामा संलग्न म्यानपावर कम्पनीमाथि समेत अनुसन्धान थालेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावास र वैदेशिक रोजगार ...