मुख्य समाचार
बेलायत आएर पढ्न, काम गर्न र यतै ‘सेटल’ हुने लाखौं आप्रवासीको सपना अब टुट्ने भएको छ
बेलायत आएर पढ्न, काम गर्न र यतै ‘सेटल’ हुने लाखौं आप्रवासीको सपना अब टुट्ने भएको छ

। बेलायत आएर पढ्न, काम गर्न र यतै ‘सेटल’ हुने लाखौं आप्रवासीको सपना अब टुट्ने भएको छ ।

एकपछि अर्को अध्यागमन नियम कडाइले चारैतिर सम्भावनाका ढोका बन्द हुनलाग्दा आप्रवासीहरू चिन्तित छन् । यो चिन्ता उज्वल भविष्य खोजिरहेका हजारौं नेपाली विद्यार्थी र कामदारलाई समेत परेको छ ।
तीनैमध्येकी एक हुन्, सृजना भुसाल ।

सृजना गत अप्रिलमा बीपीपी युनिभर्सिटीमा ‘हेल्थ केयर लिडरसीप एन्ड म्यानेजमेन्ट क्लिनिकल प्रोफेसनल’ विषयमा मास्टर्स गर्न लन्डन आइन् ।

उनले अध्ययनका लागि छात्रवृत्तिबाहेक १४ हजार ५०० पाउन्ड (झण्डै २९ लाख रुपैयाँ) खर्च गरिसकेकी छन् । पढाइपछि बेलायतमै केही गर्ने सोचेकी सृजना बेलायत सरकारको पछिल्लो अध्यागमन नियम कडाइबाट चिन्तित अनि आक्रोशित छन् ।

‘गैर कानुनी रूपमा आउनेहरूले बरु राम्रो अवसर पाएका छन् । तर हामी जस्ता जेन्युइन विद्यार्थी मर्कामा परेका छौं’, उनले भनिन्, ‘काम पाउनै सकस छ । अनि जेनतेन पाएपनि सातामा २० घण्टामात्र काम गर्ने अधिकार दिइएको छ । जसमा निर्भर हुँदा दैनिक जीवनयापन कठिन छ ।’

उनका अनुसार ‘पोस्ट स्टडी वर्क भिसा’को अवधि घटेको छ । १० वर्ष बेलायत बसेर सेटलमेन्ट लिने पुरानो ‘लङ्ग रेसिडेन्स’ नियम अब बन्द हुने भएकाले बेलायतमा कुनै भविष्य नदेखिएको उनले बताइन् ।

लन्डनस्थित अध्यागमन सोलिसिटर राजु थापाले बेलायतको अध्यागमन कानुनमा भइरहेका निरन्तर र कडा परिवर्तनहरूले यहाँ बसोबास गर्ने तथा भविष्यमा आउन चाहने विद्यार्थी, कामदार र तिनका परिवारहरूमा गहिरो प्रभाव पारेको बताए ।

‘स्थायी बसोबासको अवधि १० वर्ष पुर्‍याइनु, न्यूनतम तलब सीमा तथा अंग्रेजी भाषाको मापदण्ड बढाइनु र ग्रयाजुएट भिसाको अवधि १८ महिनामा झारिनुले सेटलमेन्ट प्रक्रिया थप चुनौतीपूर्ण र खर्चिलो बनाएको छ’, थापाले भने ।

बेलायतको अध्यागमन यात्रा सुरक्षित र सफल बनाउन आधिकारिक सरकारी सूचनाहरूबारे सधैं अद्यावधिक रहन, आवश्यक सीप तथा भाषाको तयारी समयमै गर्न र योग्य अध्यागमन कानुन व्यवसायी (सोलिसिटर) को उचित परामर्श लिएर मात्र अगाडि बढ्न उनले सुझाव दिए ।

खुद आप्रवासनमा भारी गिरावट

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले गत बिहीबार नयाँ तथ्यांक सार्वजनिक गरेको छ । जसमा बेलायत छाड्ने आप्रवासीको संख्याले ‘रेकर्ड ब्रेक’ गरेको छ ।

यसैवर्षको जुन महिनाको अन्त्यसम्म एक वर्षमा बेलायतमा खुद आप्रवासन (नेट माइग्रेसन) घटेर ७७ हजारमा झरेको छ । महामारीको समयबाहेक यो यस शताब्दीकै सबैभन्दा गिरावट मानिएको छ ।

सन् २०२० मा विश्वव्यापी यात्रा प्रतिबन्धका कारण मानिसहरूको आवागमन सीमित भएको अवधिलाई छोड्ने हो भने मार्च २०२३ सम्म एक वर्षमा ९ लाख ४४ हजारको कीर्तिमानी उच्च विन्दुमा पुगेको खुद आप्रवासन संख्यामा अहिले ९२ प्रतिशतले गिरावट आएको हो ।

ओएनएसका अनुसार, सन् १९९७ यताको यो सबैभन्दा कम खुद आप्रवासन हो । खुद आप्रवासन भन्नाले बेलायत भित्रिने र बाहिरिने मानिसको संख्याबीचको अन्तर बुझाउँछ ।

खुद आप्रवासन संख्या न्यून स्तरमा झर्नुको मुख्य कारण युरोपबाहिरबाट आउने मानिसको संख्यामा आएको गिरावट हो । एक वर्षमा बेलायतमा काम गर्न आउनेहरूको संख्या ४५ हजारले घटेको छ । शरणार्थी दाबी गर्नेहरूको संख्या १९ हजार र अध्ययन गर्न आउने विद्यार्थीको कुल संख्यामा ३३ हजारको कमी आएको तथ्यांकमा छ ।

जुन २०२६ सम्मको एक वर्ष अवधिमा विदेशबाट करिब ७ लाख ३८ हजार मानिस बेलायत (यूके) भित्रिएका छन् भने ६ लाख ६१ हजार मानिस बेलायतबाट बाहिरिएको तथ्याङ्कले देखाएको छ ।

यही अवधिमा बेलायत फर्कने बेलायती नागरिकको संख्या १ लाख ९ हजार भन्दा बेलायत छोड्ने बेलायती नागरिकको संख्या २ लाख ४५ हजार बढी रहेको पनि तथ्याङ्कमा छ ।

प्रधानमन्त्री एन्डी बर्नहामले यी तथ्याङ्कहरूले आप्रवासन प्रणाली अहिले पर्याप्त मात्रामा नियन्त्रणमा रहेको देखाएको बताएका छन् ।

‘यी तथ्याङ्कहरूले देखाउँछन् कि यो सरकारले आप्रवासनमा पुन: नियन्त्रण कायम गरेको छ,’ गृहमन्त्री सबाना महमुदले भनेकी छन्, ‘हामीले खुद आप्रवासनलाई ७७ हजारमा झारेका छौं, जुन कन्जरभेटिभ पार्टीको शासनकालमा देखिएको उच्च विन्दुको तुलनामा ९२ प्रतिशतले कम हो । जहाँ उनीहरू असफल भए, त्यहाँ हामीले बेलायती जनताका लागि नतिजा दिएर देखाएका छौं ।’

अध्ययन वा कामका लागि युरोपियन युनियन देशहरूभन्दा बाहिरबाट आउनेहरूको संख्यामा गिरावट कन्जरभेटिभको नेतृत्वमा लिइएका निर्णयहरू लेबर शासनकालमा पनि जारी रहँदा भएको हो ।

पछिल्ला वर्षमा केयर वर्कर र विदेशी विद्यार्थीलाई परिवारका सदस्यहरू (डिपेन्डेन्ट) बेलायत ल्याउनबाट रोक लगाइएको छ । साथै स्किल्ड वर्कर भिसाका लागि तलब थ्रेसहोल्ड बढाउने निर्णय पनि आप्रवासन घट्नुको कारण छ ।

‘सन् २०२३ को उच्च विन्दुको तुलनामा खुद आप्रवासन ९२ प्रतिशतले घटेको छ । महामारीको अवधि बाहेक यो सन् १९९७ यताकै सबैभन्दा न्यून स्तर हो’, सरकारले भनेको छ, ‘साना डुङ्गामार्फत आउनेहरूको संख्या घट्दो छ, होटल तथा शरणार्थी आवासमा रहेका मानिसहरूको कुल संख्यामा कमी आएको छ र स्वदेश फर्काइनेहरूको संख्या बढेको छ। यो संयोगवश भएको होइन । वर्तमान सरकारले यसका लागि चालेको ठोस कदमका कारण हो ।’

शरणार्थीका लागि आवेदन दिनेको संख्या ३३ प्रतिशत कमी

बेलायतमा शरणार्थीका लागि आवेदन दिने व्यक्तिको संख्या पछिल्लो एक वर्षमा ३३ प्रतिशतले घटेको छ ।

सन् २०२६ सेप्टेम्बर मसान्तसम्म एक वर्षमा ७४ हजार व्यक्तिले शरण आवेदन दिएका छन् जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशत कम हो ।

गृह मन्त्रालयका अनुसार गैरकानुनी मार्गबाट बेलायत प्रवेश गर्ने व्यक्तिहरूको शरण आवेदनमा आएको कमी यस गिरावटको मुख्य कारण हो ।

सरकारले स्किल्ड वर्क भिजाका लागि न्यूनतम तलब ४१ हजार ७०० पाउण्ड, सीप थ्रेसहोल्ड डिग्री स्तरसम्म वृद्धि र विदेशबाट केयर वर्करहरू भर्ती गर्न रोकेको छ ।

अंग्रेजी भाषा मापदण्ड ए लेभल बराबरको बढाइएको छ भने १०० बढी पेशामा विदेशबाट भर्ना कटौती गरिएको छ । स्थायी बसोबास (सेटलमेन्ट) का लागि योग्यता अवधि ५ बाट दोब्बर १० वर्ष बनाइएको छ जसकारण ५ लाख आप्रवासी तत्काल सेटलमेन्ट हुनबाट वञ्चित भएका छन् ।

गैरकानुनी रूपमा सीमा पार गर्ने क्रममा उल्लेख्य कमी आएको सरकारले बताएको छ । सन् २०२० यता यस गर्मीयाममा सबैभन्दा कम संख्यामा मानिस बेलायत आइपुगेका जनाइएको छ ।

सन् २०२४ जुलाईको निर्वाचनयता फ्रान्ससँगको संयुक्त प्रयासले सीमा पार गर्ने ५० हजार बढी प्रयास विफल पारिएको, मानव तस्करी सञ्जाल करिब ७ हजार ५ सय पटक अवरुद्ध पारिएको र एकहजार एकसय बढी डुङ्गा र इन्जिनहरू नियन्त्रणमा लिइएको सरकारी तथ्यांक छ ।

लेबर पार्टी सरकारमा आएपछि जुलाई २०२४ यता बेलायत बस्ने अधिकार नभएका करिब ९० हजार आप्रवासीलाई स्वदेश फिर्ता पठाइएको सरकारी तथ्यांक छ ।

डिपोर्टेसन संख्या अघिल्लो सरकारको अन्तिम वर्षको तुलनामा पछिल्लो वर्ष ३२ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत अक्टोबर २७ मा सम्पन्न आम निर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि इजरायलमा नयाँ सरकार गठनको प्रक्रिया थप अनिश्चित बनेको छ। मध्यमार्गी याशार पार्टीका प्रमुख गादी आइजनकोट र उनका मुख्य प्रतिद्वन्द्वी कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीबीच संयुक्त सरकार गठनका लागि भइरहेका वार्ता निष्कर्षविहीन बनेका छन्। इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायल र सार्वजनिक प्रसारक कानका ...
। अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयनजिकै शनिबार भएको शक्तिशाली विस्फोटमा १० बालबालिकाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले बीबीसीलाई उक्त जानकारी दिएका हुन्। यसअघि विस्फोटमा ६ देखि ७ जना बालबालिकाको मृत्यु भएको विवरण बाहिरिएको थियो। विद्यालयको ठिक छेउमा रहेको विस्फोटक पदार्थ (डाइनामाइट) भण्डारण गर्ने गोदाममा विस्फोट भएको ...
: अमेरिकाको न्युयोर्कमा विश्वप्रसिद्ध ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ को १००औँ संस्करण शनिबार भव्य रूपमा सम्पन्न भएको छ । मौसम प्रतिकूल हुने र तीव्र हावाहुरी चल्ने पूर्वानुमानका कारण इतिहासमै पहिलोपटक स्थगित गरिएको परेड शनिबार आयोजना गरिएको हो । यसअघि हरेक वर्ष थ्याङ्क्सगिभिङ पर्वका दिन बिहीबार आयोजना हुँदै आएको परेड यसपटक दुई दिनपछि सञ्चालन गरिएको थियो । परेडमा हजारौँ ...
। अस्ट्रेलियाले टुरिस्ट भिसासम्बन्धी नियममा परिवर्तन गर्दै थप कडाइ गरेको छ। शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब टुरिस्ट भिसामा अस्ट्रेलिया जाने यात्रुले त्यहाँ पुगिसकेपछि आफ्नो भिसाको अवधि थप्न पाउने छैनन्। यो नियम भिजिटर भिसा (सबक्लास ६००) का सबै श्रेणीमा लागू हुनेछ। हाल अस्ट्रेलियाले अधिकतम १२ महिनासम्मको टुरिस्ट भिसा जारी गर्ने गरेको छ। यद्यपि, यात्रुले त्यहाँ कति ...
संयुक्त राष्ट्रसंघका खाद्यसम्बन्धी निकायहरूले गाजामा भोकमरीको अवस्था अझै गम्भीर रहेको बताएका छन् । यद्यपि, गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि मानवीय सहायता उपलब्ध गराउने क्षेत्रमा केही सुधार देखिएकाले प्यालेस्टिनी क्षेत्रलाई भोकमरीको जोखिमसम्बन्धी प्रतिवेदनमा एक तह तल झारिएको छ । एसोसिएटेड प्रेस (एपी) का अनुसार संयुक्त राष्ट्रसंघका खाद्य निकायहरूले आफ्नो पछिल्लो प्रतिवेदनमा गाजामा मानवीय सहायताका क्षेत्रमा भएका सुधारलाई ‘नाजुक ...