: प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएपछि कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षा व्यवस्था कडा पारिँदै छ। प्रतियोगिताको उद्घाटन समारोहसहित समग्र खेल अवधिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुर्खेतमा विशेष सुरक्षा समन्वय बैठक भइरहेको छ।
आगामी मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रधानमन्त्री शाहको उपस्थितिमा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ। प्रधानमन्त्रीसहित अति विशिष्ट व्यक्तिको आगमन, खेलाडी तथा अफिसियलको आवास र दर्शकको ठूलो उपस्थितिलाई ध्यानमा राख्दै सुरक्षा रणनीति तयार पारिएको हो।
सुरक्षा समन्वय बैठकले प्रतियोगिता अवधिभर सबै सुरक्षा निकायबीच निरन्तर समन्वय गर्ने, सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने तथा आवश्यकताअनुसार संयुक्त रूपमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।
सुरक्षा योजनाअन्तर्गत रंगशालाका प्रवेश तथा निकास मार्गको व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। त्यस्तै, खेलस्थलमा सीसीटीभीमार्फत निगरानी, नियमित गस्ती तथा विशिष्ट पाहुनाको आवागमनका क्रममा सुरक्षा एस्कर्टिङको व्यवस्था मिलाइने भएको छ।
मङ्सिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडीसहित विभिन्न टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
सुरक्षा समन्वय बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, प्रधानमन्त्रीका प्रेस संयोजक दिपा दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, प्रमुख सचिव राधिका अर्याल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालगायत प्रदेश सरकारका उच्च अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी सहभागी थिए।