: सिन्धुलीको दुधौली नगरपालिका-३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। आइतबार दिउँसो १३:१५ बजेतिर काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट तल खस्दा दुर्घटना भएको हो।
घाइते हुनेमा सुनसरी,बराहक्षेत्र नगरपालिका–८ बस्ने अन्दाजी ४२ वर्षीय चालक मातृका भट्टराई,उनकी श्रीमती अन्दाजी ३८ वर्षीया प्रमिला भट्टराई,निजका छोरा अन्दाजी ८ वर्षीय आयन्स भट्टराई,अन्दाजी ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका छोरा अन्दाजी १३ वर्षीय अतर्व भट्टराई रहेका छन्। घाइते चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।