। नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस् भन्नेमा रहेको र यसका निमित तयार रहेको बताएका हुन् ।
उनी भन्छन्, ‘सबैको सम्पति विवरण । हामी त थयार भयौं । २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै प्रत्येक मान्छेको सम्पति विवरण जाँचबुझ गर्ने । अहिलेसम्म अनुसन्धान भएर भनेर थन्काइएका जति पनि फाइल छन् त्यसको अनुसन्धान गर्ने । प्रत्येक कुरामा नेपाली कांग्रेस खुला छ । सरकारले गरोस् भनेर हामी माग राख्छौं ।’
यो कुरा जनताकहाँ जाँदा प्रष्टसँग भन्न पनि उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरे ।
अनुसन्धान गर्दै गर्दा त्यो अनुसन्धान कानुन बमोजिम हुनुपर्ने पनि उनको भनाइ छ । ‘अनुसन्धान कानुनअनुसार हुनुपर्छ । सरकारका निकायहरू कानुनअनुसार चल्नुपर्छ’, उनले भने । कोही कांग्रेस छ र गलत गरेको छ भने त्यसमा कारबाही हुनुपर्छ भन्नेमा प्रष्ट रहेको उल्लेख गर्दै कांग्रेस रहेको र गलत नगरेको अवस्थामा समेत दु:ख दिने नियत राखिए स्वीकार्य नहुने उनले बताए ।
यही कुरा रास्वपाको हकमा पनि लागू हुनुपर्ने उनले बताए ।
कुनै नेता, मन्त्रीका बारेमा केही आयो भन्दैमा दोषी नहुने तर गलत गरेको छ भने जो कोही भएपनि कानुनअनुसार अनुसन्धान भएर अगाडि बढ्नुपर्ने उनले आग्रह गरे । यही सन्देश लिएर जनतामा जान उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरे ।