। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट बंगलादेश हुँदै भित्रिएको ७ किलो गाँजासहित विमानस्थलमा शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूमाथि निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार शनिबार थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएको बीजी–३७१ नम्बरको उडानमार्फत आएका एक भारतीय नागरिक र सोही उडानमा बंगलादेशबाट आएका दुई नेपालीलाई शंकास्पद गतिविधि गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
उनीहरूको साथमा रहेको झोला जाँच गर्ने क्रममा एयर ड्रायर र कुकीज बिस्कुटको बट्टाभित्र लुकाएर राखिएको सात किलो लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित गोरखपुरका २८ वर्षीय सचिन दुबे, गुल्मीको चन्द्रकोट गाउँपालिकाका २७ वर्षीय रामु सार्की र बागलुङको बरेङ गाउँपालिका–३ का २८ वर्षीय सन्देश सुनार रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट सात किलो गाँजा, तीन थान राहदानी र तीन थान मोबाइल फोन बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।