— फ्रान्स, बेलायत, क्यानडा र अस्ट्रेलियासहित आठ देशले सन् २०२७ को पहिलो तीन महिनाभित्र संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन प्यालेस्टिनी प्राधिकरणलाई आग्रह गरेका छन्।
अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, लक्जेम्बर्ग, नर्वे, पोल्यान्ड र बेलायतका विदेशमन्त्रीहरूले शनिबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति महमुद अब्बासले निर्वाचन स्थगित गरेको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।
प्यालेस्टाइनमा नोभेम्बर २८ मा हुने तय भएको संसदीय निर्वाचन स्थगित गरिएको थियो। राष्ट्रपति अब्बासले इजरायली प्रतिबन्ध र गाजाको सुरक्षा अवस्थालाई कारण देखाउँदै संसदीय निर्वाचन सन् २०२७ सेप्टेम्बर ११ सम्मका लागि स्थगित गरेका थिए। राष्ट्रपतीय निर्वाचन पनि स्थगित गरिएको थियो ।
प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार प्यालेस्टिनी मुक्ति सङ्गठन (पीएलओ) को कार्यकारी समिति र विभिन्न राजनीतिक समूहबीचको परामर्शपछि निर्वाचनका लागि उपयुक्त राजनीतिक तथा सुरक्षा अवस्था आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
वाफाले इजरायली सैन्य आक्रमण, बस्ती विस्तार, बसोबासीको हिंसा र पश्चिम किनारमा बारम्बार हुने सैन्य प्रवेशलाई निर्वाचन स्थगनका प्रमुख कारणका रूपमा उल्लेख गरेको छ। आवागमनमा प्रतिबन्ध र प्यालेस्टिनी कर राजस्व रोकिँदा निर्वाचन तयारीमा प्रशासनिक, आर्थिक तथा सुरक्षा चुनौती थपिएको पनि जनाइएको छ।
तर आठ देशका विदेशमन्त्रीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा लोकतान्त्रिक प्रक्रियाका लागि निर्वाचन महत्त्वपूर्ण रहेको उल्लेख छ।
प्यालेस्टिनी नागरिकले राष्ट्रिय निर्वाचनमा मतदान नगरेको दुई दशक भइसकेको र सन् २०२१ का लागि तय भएको संसदीय निर्वाचन पनि स्थगित भएको उल्लेख गर्दै उनीहरूले निर्वाचनमा भइरहेको ढिलाइले नागरिकको लोकतान्त्रिक अधिकार कुण्ठित गरेको बताएका छन्।
प्यालेस्टिनी नेतृत्वको वैधता नवीकरण गर्न, गाजामा प्यालेस्टिनी प्राधिकरणको सम्भावित पुनरागमन तथा सम्पूर्ण प्यालेस्टिनी भूभागमा शासन व्यवस्था पुनःस्थापना गर्न निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ। लोकतान्त्रिक नवीकरण दुई राज्य समाधानको संरक्षणसँग जोडिएको पनि वक्तव्यमा उल्लेख छ।
आठ देशले न्युयोर्क घोषणाअन्तर्गतका प्रतिबद्धता पूरा गर्दै सन् २०२७ को पहिलो त्रैमासिकमा निर्वाचन गराउन प्यालेस्टिनी प्राधिकरणलाई आग्रह गरेका छन्।
साथै, अधिकृत प्यालेस्टिनी भूभागका सबै क्षेत्रमा मतदानको वातावरण बनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन्। निर्वाचन पर्यवेक्षण र स्वतन्त्र निर्वाचन आयोगलाई सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका छन्।
प्यालेस्टिनी क्षेत्रमा पछिल्लो संसदीय निर्वाचन सन् २००६ मा भएको थियो। त्यसमा हमासले अब्बासको फताह पार्टीलाई पराजित गरेको थियो।
त्यसपछि राजनीतिक विभाजन बढ्दै सन् २००७ मा हमासले गाजाको नियन्त्रण लिएको थियो। त्यसयता प्यालेस्टिनी विधान परिषद्को बैठक बसेको छैन। इजरायलले गाजामा मतदानको सुनिश्चितता नदिएपछि सन् २०२१ मा तय भएका संसदीय तथा राष्ट्रपतीय निर्वाचन पनि स्थगित भएका थिए।