मुख्य समाचार
पाकिस्तानले हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई सघाउन आफ्नो सेना पठाउने
पाकिस्तानले हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई सघाउन आफ्नो सेना पठाउने

— पाकिस्तानले हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई सघाउन आफ्नो सेना पठाउने भएको छ। पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा विद्यमान रक्षा सहकार्यसम्बन्धी सम्झौताअन्तर्गत पाकिस्तानी सैनिक साउदी अरब जाने उल्लेख छ।

यद्यपि, पाकिस्तानले कति सैनिक पठाउने, उनीहरूको ठोस जिम्मेवारी के हुने, कति समयसम्म तैनाथ गरिने र कहिलेसम्म साउदी अरब पुग्ने भन्नेबारे विस्तृत जानकारी दिएको छैन।

अमेरिकाको प्रमुख क्षेत्रीय सहयोगी साउदी अरबले हुथी विद्रोहीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको छ। तीमध्ये केही आक्रमण घातक सिद्ध भएका छन्।

आफ्नो सुरक्षा व्यवस्था मजबुत बनाउन साउदी अरबले टर्की, पाकिस्तान, इजिप्ट र सिरियालगायत क्षेत्रीय सहयोगी राष्ट्रसँग सैन्य सहयोग माग्दै आएको छ।

साउदी अरबले यमनको गृहयुद्धमा विगत एक दशकदेखि हुथी विद्रोहीविरुद्ध अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै आएको छ। उक्त सरकार यमनको दक्षिणी क्षेत्रमा सक्रिय छ।

तर, इरान समर्थित हुथी विद्रोहीले राजधानी सानासहित देशका सर्वाधिक जनसंख्या भएका क्षेत्र कब्जा गरेका छन्।

सन् २०२२ मा यमनको अन्तर्राष्ट्रिय सरकारसँग अमेरिकाको मध्यस्थतामा युद्धविराम गरेका हुथी विद्रोहीहरू यसै वर्ष फेब्रुअरीमा इरानमाथि इजरायल–अमेरिकाको संयुक्त आक्रमणपछि फेरि सतर्क भए । उनीहरूले अमेरिका–इजरायलको निन्दा गर्दै मार्च २८ मा इजरायलविरुद्ध क्षेप्यास्त्र प्रहार गरे ।

त्यसपछि यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार समर्थित सेनालाई पनि विभिन्न इलाकाबाट धपाउन थाले ।

साउदी गठबन्धनको हिस्सा रहेको यस सेनासँग जुलाईदेखि हुथीको युद्ध निकै चर्कियो । पछिल्ला दिनहरूमा हुथीले साउदीका पूर्वाधार, महत्वपूर्ण जलमार्ग र राजधानी रियादसहितका सहरहरूलाई निसाना पारेको छ ।

साउदीलाई अमेरिका र हुथीलाई इरानले समर्थन गरिरहेकाले यस द्वन्द्वलाई अमेरिका–इरान युद्धको विस्तारका रूपमा समेत हेरिएको छ ।

पछिल्ला महिनामा हुथी विद्रोहीले वर्षौयताकै ठूलो भूभाग कब्जा गरेका छन् । उनीहरूले सरकार समर्थित सेनाको नियन्त्रणमा रहेको यमनको लालसागर तटीय क्षेत्रसमेत आफ्नो कब्जामा लिएका छन् ।

यससँगै साउदी अरबको एउटा महत्वपूर्ण तेल पाइपलाइन बन्द हुँदा तेल निर्यातमा अवरोध सिर्जना भएको छ । यसले विश्व बजारमा इन्धनको मूल्य बढाउनुका साथै इरानको रणनीतिक प्रभावसमेत विस्तार गरेको छ ।

अगस्टमा भएको थियो मक्का रक्षा सम्झौता

साउदी अरब, पाकिस्तान र टर्कीले गत अगस्ट ७ मा 'मक्का रक्षा सम्झौता' मा हस्ताक्षर गरेका थिए। यस सम्झौतामा कुनै पनि हस्ताक्षरकर्ता मुलुकमाथि हुने आक्रमणलाई अन्य सदस्यले आफूमाथिको आक्रमणसरह मान्ने र तीनवटै देश मिलेर प्रतिरोध गर्ने उल्लेख छ।
संयुक्त सुरक्षा, विशेष प्रविधिको संयुक्त अनुसन्धान तथा विकास, सैन्य प्रशिक्षण, गोप्य सूचनाको आदानप्रदानलगायत विषय सम्झौतामा समावेश छन्।

पाकिस्तानले सेना पठाउने घोषणा गर्नुभन्दा दुई दिनअघि पाकिस्तान, टर्की र साउदी अरबका रक्षा तथा सैन्य अधिकारीहरूले इस्लामाबादमा बैठक गरेका थिए। बैठकमा उनीहरूले त्रिपक्षीय रक्षा सम्झौताअन्तर्गत साउदी अरबलाई सहयोग गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएका थिए।

यो सम्झौताले साउदी अरबमा दशकौँदेखि जारी पाकिस्तानी सैन्य उपस्थितिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। सन् १९८० को दशकको सुरुवातदेखि नै पाकिस्तानी सैनिक साउदी अरबमा तैनाथ छन्। उनीहरूले त्यहाँको सेनालाई तालिम र परामर्श दिँदै आएका छन्। यद्यपि, त्यहाँ रहेका पाकिस्तानी सैनिकको संख्या सार्वजनिक गरिएको छैन।

इजिप्टले हुथी आक्रमणबाट साउदी अरबको रक्षा गर्न सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको एक महिनापछि पाकिस्तानले पनि सेना पठाउन लागेको हो।

एक क्षेत्रीय अधिकारीका अनुसार इजिप्टले साउदी अरबतर्फ प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोन रोक्न हवाई रक्षा प्रणाली तथा लडाकु विमान परिचालन गर्नेछ। नाम नबताउने सर्तमा ती अधिकारीले इजिप्टको सहयोग रक्षात्मक प्रकृतिको हुने र यमनमा स्थल सेना परिचालन नगरिने बताएका थिए।

मक्का र मदिनाको सुरक्षा गर्ने प्रतिबद्धता

आइतबार जारी विज्ञप्तिमा पाकिस्तानले साउदी अरबका मक्का र मदिना सहरमा रहेका इस्लाम धर्मका दुई पवित्र मस्जिदको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सैनिकहरूले स्थापित सुरक्षा सहकार्यको ढाँचाअन्तर्गत साउदी अरबको भूभागभित्रै रहेर आफूलाई तोकिएको जिम्मेवारी निर्वाह गर्नेछन्। यस तैनाथीले नयाँ सुरक्षा चुनौतीबीच साउदी अधिराज्यको रक्षात्मक क्षमता थप सुदृढ बनाउन योगदान पुर्‍याउनेछ।’

हुथी विद्रोहीले मक्का र मदिनातर्फ क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको आरोप साउदीले लगाउँदै आएको छ। तर, हुथी विद्रोहीले यो आरोप अस्वीकार गर्दै आएका छन्।

गत महिना रियादमा भएको बैठकमा पाकिस्तान, साउदी अरब र टर्कीले सामूहिक रक्षा प्रतिबद्धता कार्यान्वयन गर्ने सहमति गरेका थिए। त्यसमा आवश्यक पर्दा साउदी अरबमा सैन्य बल तथा उपकरण शीघ्र परिचालन गर्ने व्यवस्थासमेत समावेश थियो।

वार्ताको मध्यस्थता प्रयास जारी

पाकिस्तानले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्न दुवै पक्षलाई पुनः वार्तामा ल्याउने कूटनीतिक प्रयास पनि गरिरहेको छ। यसका लागि उसले कतारलगायत मुलुकसँग सहकार्य गरिरहेको छ।

इस्लामाबादले यसअघि जुन महिनामा अमेरिका र इरानबीच अन्तरिम सहमति गराउन मध्यस्थता गरेको थियो। आफ्नो सहयोगी हुथी विद्रोहीविरुद्ध सेना पठाउने पाकिस्तानको निर्णयलाई इरानले कसरी हेर्छ भन्‍ने स्पष्ट भइसकेको छैन । तेहरानले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

यसैबीच, साउदी अरबसँगको सुरक्षा गठबन्धनमा सहभागी भएको विषयलाई लिएर हुथी विद्रोहीका एक वरिष्ठ नेताले पाकिस्तान र टर्कीको आलोचना गरेका छन्।

शनिबार राति जारी वक्तव्यमा हुथी सर्वोच्च राजनीतिक परिषद्का सदस्य मोहम्मद अली अल–हुथीले 'मक्का संयुक्त रक्षा सम्झौता' मा सहभागी टर्की र पाकिस्तानले यमनमाथि भइरहेको आक्रमण, नाकाबन्दी र हत्याजस्ता गतिविधिलाई बेवास्ता गरेको आरोप लगाए।

सन् २०१५ मा यमनको गृहयुद्धमा हुथी विद्रोहीविरुद्ध बनेको अमेरिका समर्थित साउदी नेतृत्वको सैन्य गठबन्धनतर्फ संकेत गर्दै अल–हुथीले भने, ‘हाम्रो देशविरुद्ध गठन गरिएको अघिल्लो गठबन्धन असफल भएजस्तै भविष्यमा बन्ने कुनै पनि गठबन्धन असफल हुनेछ।’

पाकिस्तानले भने मक्का सम्झौता कुनै पनि देशविरुद्ध लक्षित नरहेको र सामूहिक सुरक्षाका लागि मात्र गरिएको दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— फ्रान्स, बेलायत, क्यानडा र अस्ट्रेलियासहित आठ देशले सन् २०२७ को पहिलो तीन महिनाभित्र संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन प्यालेस्टिनी प्राधिकरणलाई आग्रह गरेका छन्। अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, लक्जेम्बर्ग, नर्वे, पोल्यान्ड र बेलायतका विदेशमन्त्रीहरूले शनिबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति महमुद अब्बासले निर्वाचन स्थगित गरेको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। प्यालेस्टाइनमा नोभेम्बर २८ मा हुने तय भएको संसदीय ...
। इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्। बगदादले तेल तस्करी रोक्ने प्रयासका लागि वासिङ्टनबाट प्रशंसा पाएपछि यस्तो उनले यस्तो भनाइ राखेका हुन्। राष्ट्रिय प्रसारक सेवाका अनुसार रेजाइले तेहरानमा इराकी राष्ट्रिय सुरक्षा सल्लाहकार कासेम अल–अबुदीसँगको बैठकमा भने, ‘इरान–इराक आर्थिक सहयोगमा विदेशीहरूलाई नकारात्मक प्रभाव पार्न दिनु हुँदैन।’ यस हप्ता ...
। अमेरिकी सेनामाथि भएका आक्रमणमा इरानले एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको खुलासा भएको छ । द वासिङ्टन पोस्टले शनिबार प्रकाशित रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै इरानले स्टारलिङ्कको अनधिकृत प्रयोग अमेरिकी सेनाविरुद्धका आक्रमणसँग जोडिएको जनाएको छ । कम्पनीभित्रको छलफलबारे जानकार दुई व्यक्तिका अनुसार स्टारलिङ्कको दुईवटा अनधिकृत प्रयोगबारे जानकारी पाएपछि स्पेसएक्सका सीईओ एलन मस्क असन्तुष्ट ...
। साउदी अरबको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपालसहित विभिन्न देशका एयरलाइन्सले साउदी अरबका गन्तव्यमा हुने उडान स्थगित तथा रद्द गर्ने क्रम जारी राखेका छन् । यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेपछि क्षेत्रीय हवाई सेवामा अवरोध भएको हो । नेपालको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दमाम उडानसमेत प्रभावित भएका छन् । ...
। म्यान्माको सेनाले दुई दिनमा गरेका छुट्टाछुट्टै हवाई आक्रमणमा बालबालिकासहित ७० भन्दा बढीको मृत्यु भएको विपक्षी समूह, उद्धारकर्मी र सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन् । नोभेम्बर २८ मा शान राज्यको पेखोन क्षेत्रमा विवाहको तयारी भइरहेका बेला लडाकू विमानले बम खसाल्दा २१ सर्वसाधारणको मृत्यु र ३० जना घाइते भएको करेन्नी राज्यको ...