: बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा आवेदन केन्द्र (इन्डियन भिसा एप्लिकेशन सेन्टर–IVAC) अनिश्चितकालका लागि बन्द गरिएको छ। केन्द्रले जारी गरेको विज्ञप्तिअनुसार, चटगाउँस्थित भारतीय सहायक उच्चायोगको निवासमा हालै भएको सुरक्षा घटनापछि उक्त निर्णय लिइएको हो।
IVAC ले जनाएको छ,'चटगाउँस्थित भारतीय सहायक उच्चायोगमा भएको पछिल्लो सुरक्षा घटनालाई मध्यनजर गर्दै चटगाउँमा सञ्चालन भइरहेका सबै भारतीय भिसासम्बन्धी सेवाहरू डिसेम्बर २१ देखि अर्को सूचना नआएसम्म बन्द गरिएको छ।' केन्द्र पुनः सञ्चालनबारे अवस्थाको समीक्षा पछि जानकारी दिइने पनि विज्ञप्तिमा उल्लेख छ।
बंगलादेशी विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि चटगाउँमा तनाव बढेको छ। यसै सन्दर्भमा बिहीबार राति भारतीय उच्चायोग अगाडि प्रदर्शन भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रदर्शनकारीहरूले भारतीय सहायक उच्चायुक्तको निवासमा ढुङ्गा हानेको देखिएको छ।
प्रहरीले लाठीचार्ज गर्दै प्रदर्शनकारीहरूलाई तितरबितर पारेको र घटनास्थलबाट कम्तीमा १२ जनालाई पक्राउ गरिएको जनाएको छ।
यसअघि पनि सुरक्षा चासो बढेपछि ढाकास्थित भारतीय भिसा आवेदन केन्द्र अस्थायी रूपमा बन्द गरिएको थियो। डिसेम्बर १७ मा ‘जुलाई ओइक्या’ नामक प्लेटफर्मले ढाकास्थित भारतीय उच्चायोग घेराउ गर्ने घोषणा गरेपछि जमुना फ्युचर पार्कमा रहेको IVAC बुधबार दिउँसो बन्द गरिएको थियो। तर उक्त केन्द्र भोलिपल्ट डिसेम्बर १८ मा पुनः सञ्चालनमा आएको थियो।
चटगाउँमा विकसित पछिल्लो घटनाक्रमसँगै बंगलादेशस्थित भारतीय कूटनीतिक नियोगहरूको सुरक्षा व्यवस्था थप सतर्क बनाइएको जनाइएको छ।